काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपालसँगको सहकार्यमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारी साधनका लागि एन–ट्याग सेवा सञ्चालनमा ल्याएको छ ।
सवारी साधनको अगाडिको सिसामा टाँसिने यस विद्युतीय (आरएफआइडी) स्टिकरको मद्दतले टोल बुथमा नरोकिकन तोकिएको एन–ट्याग लेनबाट सिधै गुड्दा स्वचालित रूपमा टोल शुल्क भुक्तानी हुन्छ । यसले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाएर समय र इन्धनको बचत गर्नुका साथै यात्रालाई पूर्ण रूपमा नगदरहित र छरितो बनाउने बैंकले जनाएको छ ।
ग्राहकहरूले अनलाइन आवेदन भरेर नजिकैको सिद्धार्थ बैंकको शाखाबाट एन–ट्याग संकलन तथा सक्रिय गर्न सक्नेछन् । साथै, ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ बैंक स्मार्ट एक्सपीबाट घरमै बसी सहजै एन–ट्याग रिचार्ज गर्न तथा सडक बोर्ड नेपालको मोबाइल एप र पोर्टलबाट आफ्नो मौज्दात र कारोबार विवरण हेर्न सक्नेछन् ।
यस सेवाको प्रयोगले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन हुनुका साथै निकत भविष्यमा सञ्चालनमा आउने देशभरका विद्युतीय टोलयुक्त राजमार्गहरूमा सर्वसाधारणको यात्रा थप व्यवस्थित, छरितो र सुरक्षित बन्ने विश्वास बैंकले लिएको छ ।











प्रतिक्रिया