काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापा नेतृत्वको कार्यसमिति नै रहेको स्पष्ट पारेको छ। आयोगले शेरबहादुर देउवा पक्षले छुट्टै रूपमा गर्न लागेको महाधिवेशनलाई पार्टीको आधिकारिक अधिवेशनका रूपमा नलिने जनाएको हो ।
आयोगका अनुसार गगन नेतृत्वको कार्यसमितिलाई मंसिर ९ गतेको निर्णयबाट आधिकारिक रूपमा अद्यावधिक गरिसकिएको छ। त्यसैले देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म गर्ने भनिएको महाधिवेशनमा आयोगले प्रतिनिधि वा पर्यवेक्षक खटाउने तयारी गरेको छैन।
देउवा पक्षले यसअघि पनि पार्टीको महाधिवेशन कार्यतालिका आयोगमा बुझाएर अभिलेखीकरणका लागि निवेदन दिएको थियो। तर पत्र दर्ता हुनु नै उक्त समूहलाई पार्टीको आधिकारिकता प्रदान गर्नु नभएको आयोगको भनाइ छ।
यसैबीच, गगन नेतृत्वको कांग्रेसले पार्टीको नाम र चुनाव चिह्नबाट निर्वाचित भएर समानान्तर गतिविधिमा संलग्न जनप्रतिनिधिमाथि कारबाहीको तयारी गरेको छ। सभापति थापाले पार्टी छाडेर अर्को दलमा जाने जनप्रतिनिधिलाई पदबाट राजीनामा दिन आग्रह गर्दै अन्यथा विधानअनुसार कारबाही हुने चेतावनी दिएका छन्।











प्रतिक्रिया