
काठमाडौं, ८ भदौ । कैलालीको टीकापुरमा सोमबार भएको कहालीलाग्दो हिंसात्मक प्रदर्शनपछिको अवस्थाका बारेमा छलफल गर्न प्रमुख चार दलका शीर्ष नेताहरूको बैठक बस्दैछ ।
बालुवाटारमा अहिले केही समयपछि बस्ने कांग्रेस, एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको बैठकमा टीकापुरको घटना र त्यहाँका उठेका मागका विषयमा छलफल हुने बुझिएको छ ।
थरुहट/थारुवान संघीय राज्यको माग गर्दै आएका संयुक्त थारु संघर्ष समितिको प्रदर्शन सोमबार एकाएक हिंसात्मक भएपछि त्यसको चौतर्फी आलोचना भएको छ ।
सिमाङ्कनमा चित्त दुःखाएको थारु समुदायले कञ्चनपुरदेखि नवलपरासीसम्मको तराईका जिल्ला समेटेर थरुहट/थारुवान राज्य बनाउन माग गरेका छन् ।
टीकापुरको घटना र आफूहरूको आन्दोलनका विषयमा आजै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले पनि आन्तरिक तयारी गर्दैछ । समितिको पनि बैठक बस्ने तयारी भएको सभासद एवम् थारु नेतृ रुक्मिणी चौधरीले जानकारी दिनुभयो ।
‘हामी टीकापुरको घटनाबाट गम्भीर बनेका छौं’, नेतृ चौधरीले भन्नुभयो, ‘आन्दोलनमा घुसपैठ भएको छ । आन्दोलनप्रति हामी सबै थारु अगुवाहरू सचेत छौं ।’












प्रतिक्रिया