११ मंसिर २०८३, शुक्रबार

सडक मिचेर बनाइएका संरचना खाली गर्न ३० दिने अल्टिमेटम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु । सडकको क्षेत्रा धिकार मिचेर राखिएका व्यापारिक सामान, निर्माण सामग्री तथा अस्थायी संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक सूचना जारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, सुर्खेतको मातहतमा रहेको सडक डिभिजन जुम्लाले मंसिर ९ गते सार्वजनिक सूचना जारी गर्दै सडक सीमा खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई आग्रह गरेको हो ।

सडक डिभिजन जुम्लाको कार्यक्षेत्रभित्र पर्ने कर्णाली राजमार्गको दैलेख खोला–नाग्मा–जुम्ला सडक खण्ड (एनएच–६१) तथा नाग्मा–गमगढी सडक खण्ड (एनएच–६०)को सडक सीमा तथा क्षेत्राधिकार भित्र व्यापारिक मालसामान राख्ने, गाईवस्तु बाँध्ने, सवारीसाधन पार्किङ गर्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा अस्थायी वा खुद्रा व्यापार सञ्चालन गर्ने तथा टहरा, छाप्रा, घुम्ती, बार र घेराबार लगायतका संरचना निर्माण गर्ने कार्य नगर्न सूचना मार्फत सचेत गराइएको छ ।

कार्यालयले सडकको नाली, पेटी तथा अन्य संरचनामा अवरोध पुग्ने गरी सामग्री राख्ने र विभिन्न गतिविधि सञ्चालन गर्दा सवारी आवागमन, सडक सुरक्षा, मर्मत सम्भार तथा निर्माण कार्यमा समस्या भइरहेको जनाएको छ ।

सूचनामा सडक सीमा तथा क्षेत्राधिकार भित्र राखिएका सम्पूर्ण माल सामान, निर्माण सामग्री, व्यापारिक सामग्री, अस्थायी संरचना तथा अन्य अवरोधहरू सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र सम्बन्धित व्यक्ति, संस्था वा निकाय आफैँले हटाई सडक क्षेत्र खाली गराउन अनुरोध गरिएको छ ।

त्यस्तै, आगामी दिनमा समेत सडक सीमा तथा क्षेत्राधिकार भित्र कुनै पनि किसिमका संरचना निर्माण गरी अवरोध सिर्जना नगर्न आग्रह गरिएको छ ।

तोकिएको अवधि भित्र सडक क्षेत्र खाली नगरेमा प्रचलित सार्वजनिक सडक ऐन, २०३१ तथा सम्बन्धित अन्य कानुनबमोजिम अनधिकृत संरचना र अवरोध हटाउने तथा भत्काउने लगायतका आवश्यक कारबाही सडक डिभिजन कार्यालयबाट अघि बढाइने सूचनामा उल्लेख छ ।

कार्यालयले त्यस्ता संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च समेत सम्बन्धित व्यक्ति, संस्था वा निकायबाट असुलउपर गरिने जनाएको छ ।