सिरहा । सिरहाको गोलबजारमा साइकल यात्रुलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारीसाधनसहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत मंसिर ८ गते साँझ करिब ६ः५५ बजे गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा नम्बर प्लेट नखुलेको सिल्भर कलरको स्कार्पियोले साइकलमा सवार बसन्त महरालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका करिब ५० वर्षीय महराको गोलबजार हेल्थकेयर सिरहामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि फरार रहेका स्कार्पियो र चालकको खोजी गर्ने क्रममा प्रहरीले अनुसन्धानबाट सवारीसाधनको पहिचान गरेको थियो । त्यसपछि मंसिर १० गते बिहान करिब १०ः५० बजे धनगढीमाई नगरपालिका–९ जिरोमाइलस्थित एक घरमा लुकिछिपी बसेको अवस्थामा चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ बाह्रबिघामा बस्ने करिब ४२ वर्षीय बिहारी महरा रहेका छन् । प्रहरीले उनलाई बा.प्र.०१–०२५ च ७३९६ नम्बरको स्कार्पियोसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका चालक र स्कार्पियोलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।











प्रतिक्रिया