९ मंसिर २०८३, बुधबार

बालश्रमलाई पूर्ण रूपमा निषेध मात्र गर्दा व्यवहारिक नहुने भएकाले कानून बनाउन खोजिएको हो : मन्त्री यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बालश्रमलाई न्यूनीकरण गर्ने उदेश्यका साथ सरकारले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक ल्याएको बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उक्त विधेयकमाथिको छलफलका क्रममा मन्त्री यादवले बालश्रमलाई पूर्ण रूपमा निषेध मात्र गर्दा व्यवहारिक नहुने भएकाले बालश्रमलाई न्यूनीकरण गर्ने उदेश्यका साथ कानून बनाउन खोजिएको बताएका हुन् ।

उनले बालबालिकालाई विद्यालयबाट निकालेर काममा लगाउने उद्देश्य नरहेको र विद्यालयमै टिकाउनुपर्नेमा जोड दिए । तर गरिबी, पारिवारिक अवस्था वा अभिभावकविहीनताका कारण बालबालिकाको हेरचाह र संरक्षणमा देशले खेल्न सक्ने भूमिकाको यथार्थ पनि विचार गर्नुपर्ने उनले बताए ।

उनले देशको अवस्थाअनुसार वैज्ञानिक आधारमा १३ बर्षसम्म बालश्रम रोक्नुपर्ने र १३ देखि १५ वर्षसम्मका बालबालिकालाई घरमा आमाबुवालाई सघाउनेजस्ता सामान्य काममा मात्रै संलग्न गराउने प्रस्ताव गरिएको जानकारी दिएका छन् । त्यस्तै १५ देखि १८ वर्षका बालबालिकाका लागि वर्ग छुट्याएर अनुसूचीमा व्यवस्था गरिएको उनले बताए ।

प्रस्तुत विधेयकमा निषेध, नियमन, उद्धार, पुनःस्थापना र पुनःएकीकरणलाई एउटै फ्रेममा समेटेर प्रस्ताव गरिएको मन्त्री यादवले बताए । मन्त्री यादवले विगतमा सहयोग वा पढाइका लागि बालबालिका राख्ने चलन भए पनि अहिले कानुनी कारबाही वा पक्राउ पर्ने डरले असल नियतले हेरचाह गर्न पनि हिचकिचाउने अवस्था देखिएको भन्दै त्यस्ता विषयलाई स्पष्ट र व्यवस्थित गर्न नियमन आवश्यक रहेको धारणा राखे ।