९ मंसिर २०८३, बुधबार

आईजीपी विवाद : महान्यायाधिवक्ताको बहस- ‘उहाँ त मुद्दा लिएर होइन, लड्डु लिएर आउनु पर्ने हो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको नभई सरकारले थप महत्त्वपूर्ण जिम्मेवारी दिएको महान्यायाधिवक्ता नारायणदत्त कँडेलले दाबी गरेका छन्।

बुधबार सर्वोच्च अदालतमा कार्कीले दायर गरेको रिटमाथि सुनुवाइ हुँदा सरकारी पक्षको प्रतिरक्षा गर्दै कँडेलले सरकारको निर्णयलाई पदमुक्ति नभई जिम्मेवारी परिवर्तनका रूपमा व्याख्या गरे। कार्कीले आफू अन्यायमा परेको भन्दै अदालतमा आउनुको साटो सरकारको निर्णयलाई स्वागत गर्नुपर्ने उनको तर्क थियो।

‘उहाँ त मुद्दा लिएर होइन, लड्डु लिएर आउनु पर्ने हो,’ कँडेलले बहसका क्रममा भने।

उनका अनुसार सरकारले कार्कीको अनुभवलाई उपयोग गर्ने उद्देश्यले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको हो। सुरक्षा परिषद्मा प्रहरीको प्रतिनिधित्व नहुने भएकाले अनुभवी सुरक्षा सल्लाहकारको आवश्यकता महसुस गरेर उनलाई उक्त भूमिका दिइएको कँडेलको भनाइ थियो। उनले भने, ‘दानबहादुर कार्कीलाई बर्खास्त गरिएको होइन, सरकारले विशेष परिस्थितिका कारण विशेष भूमिका दिएको हो।’

कार्कीलाई कुनै कारबाही नगरिएको दाबी गर्दै उनले आईजीपीसरहकै सेवा–सुविधा निरन्तर रहेको पनि जिकिर गरे। विभिन्न आन्दोलनमा सुरक्षा व्यवस्थापन गरेको कार्कीको अनुभवलाई सरकारले नयाँ जिम्मेवारीमा उपयोग गर्न खोजेको उनले बताए।

बहसका क्रममा कँडेलले कार्कीको अनुभवको चर्चा गर्दै जेनजी आन्दोलन र मधेस आन्दोलनमा उनले निर्वाह गरेको भूमिकालाई पनि उल्लेख गरे। यसअघि प्रहरी नेतृत्व परिवर्तनसँग सम्बन्धित विवादमा सर्वोच्चले दिएका नजिर अहिलेको घटनामा आकर्षित नहुने उनको तर्क थियो। हितेन्द्रदेव शाक्य र अच्युतकृष्ण खरेलसँग सम्बन्धित घटनाभन्दा कार्कीको अवस्था फरक रहेको उनले दाबी गरे।

कार्कीले अदालतमा रिट दायर गर्नुले सरकारलाई शान्ति सुरक्षा कायम गर्न आवश्यक निर्णय लिन नदिन खोजेको सन्देश जाने कँडेलको भनाइ थियो।

सरकारले गत कात्तिक १८ गते कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो। उक्त निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत पुगेका हुन्।

सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्नुपर्ने मागसहित परेको रिटमा आदेश दिने वा नदिने विषयमा सर्वोच्चले दुवै पक्षको बहस सुनेको हो। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।