काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना विदेशस्थित आफ्नो देशका कुनै पनि कूटनीतिक नियोगमा प्रवेश गरे पनि पक्राउ पर्ने भएकी छन् ।
बंगलादेशकी विदेश मामिलासम्बन्धी राज्यमन्त्री–२ शमा ओबेद इस्लामले विदेशमा रहेका बंगलादेशका ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग मानिने भन्दै हसिना त्यहाँ पुगे पनि पक्राउ गरिने बताएकी छन् ।
द डेली स्टारका अनुसार मंगलबार विदेश मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै राज्यमन्त्री इस्लामले हसिना बंगलादेश फर्किए तत्काल पक्राउ गरी जेल पठाइने सरकारको अडान दोहोर्याएकी हुन् । उनले हसिना जहाँ गए पनि पक्राउबाट उम्कन नसक्ने बताइन् ।
‘विदेशमा रहेका हाम्रा ८४ वटै कूटनीतिक नियोगलाई बंगलादेशकै भूभाग मानिन्छ । उनी जहाँ गए पनि पक्राउ पर्नेछिन्,’ उनले भनिन् ।
राज्यमन्त्री इस्लामले हसिनालाई मानवअधिकार उल्लंघनसम्बन्धी मुद्दामा दोषी ठहर भइसकेको व्यक्ति भन्दै उनीमाथि अन्य फरार दोषीलाई लागू हुने कानुन नै कार्यान्वयन गरिने बताइन् । विदेशबाट फर्किने कुनै पनि अभियुक्त वा दोषीलाई तत्काल पक्राउ गरी जेल पठाइने र हसिनाका हकमा विशेष व्यवहार नगरिने उनको भनाइ छ ।
उनको यो भनाइ हसिनाले आगामी डिसेम्बर १६ मा बंगलादेश फर्किने इच्छा व्यक्त गरेको खबर सार्वजनिक भइरहेका बेला आएको हो ।
हसिनाले भारतको नयाँदिल्लीबाट राष्ट्रिय ध्वजावाहक विमान विमान बंगलादेश एयरलाइन्समार्फत स्वदेश फर्कने व्यवस्था मिलाउन र आवश्यक यात्रा कागजात उपलब्ध गराउन बंगलादेश सरकारसँग आग्रह गरेको समाचार सार्वजनिक भएको थियो ।
तर, राज्यमन्त्री इस्लामले हसिनालाई स्वदेश ल्याउन सरकारले कुनै तयारी नगरेको स्पष्ट पारिन् । उनका अनुसार हसिनालाई ल्याउन विमान, हेलिकोप्टर, बस, कार वा रिक्सा पठाउने विषयमा समेत सरकारभित्र कुनै छलफल भएको छैन ।
‘डिसेम्बर १६ वा १७ मा फर्किने भन्ने राजनीतिक प्रचारको कुनै अर्थ छैन । उनी आउन सक्छिन्, तर आएमा पक्राउ गरी जेल पठाइनेछ,’ उनले भनिन् ।
बंगलादेश सरकारले विदेशमा शरण लिएका दोषी व्यक्तिलाई स्वदेश फर्काउन कूटनीतिक माध्यम र विद्यमान सुपुर्दगी सन्धिअनुसार पहल गरिरहेको पनि उनले बताइन् । यस विषयमा भारत सरकारसँग निरन्तर संवाद भइरहेको उनको भनाइ छ ।
राज्यमन्त्रीले अवामी लिगका नेता तथा कार्यकर्ताले बंगलादेशमा अशान्ति सिर्जना गर्ने गतिविधि गरिरहेको आरोप समेत लगाइन् । देश छाडेपछि हसिनाले आफ्ना समर्थकलाई अलपत्र पारेको उनको आरोप थियो । मानवताविरुद्धका अपराधमा दोषी ठहर भएका व्यक्तिलाई राहदानी वा राष्ट्रिय परिचयपत्र जारी गर्न सरकार बाध्य नरहेको पनि उनले बताइन् ।
यसअघि विदेश मामिलासम्बन्धी राज्यमन्त्री हुमायुन कबिरले पनि ढाकामा विदेशी कूटनीतिज्ञलाई जानकारी गराउने क्रममा हसिना स्वदेश फर्किए पक्राउ पर्ने चेतावनी दिएका थिए । उनले अवामी लिगले सार्वजनिक शान्ति र व्यवस्थामा असर पार्न सक्ने गतिविधि सुरु गरेको आरोपसमेत लगाएका थिए ।
यसैबीच, हसिनाले स्वदेश फर्किने इच्छा व्यक्त गरेपछि बंगलादेशको सीमा सुरक्षा बल (बीजीबी)ले भारतसँगको सीमा क्षेत्रमा गस्ती बढाएको समाचारमा उल्लेख छ ।
सन् २०२४ जुलाईमा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि अगस्ट ५ मा बंगलादेश छाडेर भारत पुगेकी हसिना त्यसयता नयाँदिल्लीमा रहँदै आएकी छन् ।
सन् १९७१ मा पाकिस्तानी सेनाले आत्मसमर्पण गरेको दिनको सम्झनामा बंगलादेशले हरेक वर्ष डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाउँदै आएको छ । एएनआई











प्रतिक्रिया