काठमाडौं । जलनबाट प्रभावित बिरामीलाई विशेषज्ञ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले नबिल बैंक र धुलिखेल अस्पतालले १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा ल्याएका छन्।
धुलिखेल अस्पताल परिसरमा स्थापना गरिएको उक्त वार्डको मंगलबार नबिल बैंकका सञ्चालक समिति अध्यक्ष निर्वाण कुमार चौधरी र अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरेका हुन्।
नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम ‘नबिल केयर’ अन्तर्गत स्थापना गरिएको वार्डले जलनका बिरामीलाई विशेषज्ञतायुक्त उपचार तथा पुनर्स्थापना सेवा उपलब्ध गराउन अस्पतालको क्षमता विस्तार गर्ने अपेक्षा गरिएको छ।
यसअघि नबिल केयरले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली र मधेश प्रदेशमा निःशुल्क जलन शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको थियो। बैंकका अनुसार ती शिविरबाट करिब पाँच सय जलन प्रभावितले उपचार सेवा पाएका छन्।
जलनका बिरामीलाई तत्काल उपचारसँगै शल्यक्रिया, दीर्घकालीन पुनर्स्थापना र मनोसामाजिक सहयोग आवश्यक पर्ने भएकाले नयाँ वार्डले यस्ता सेवामा पहुँच सहज बनाउने विश्वास लिइएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष चौधरीले सामाजिक आवश्यकता पूरा गर्न निजी क्षेत्रको सहभागिता महत्वपूर्ण हुने बताए। उनले सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने काममा बैंक प्रतिबद्ध रहेको उल्लेख गरे।
“नबिल बैंकमा हामी कुनै पनि संस्थाको वास्तविक सफलता केवल आर्थिक उपलब्धिले मात्र नभई समाजमा सिर्जना गरेको सकारात्मक प्रभावबाट पनि मापन गरिनुपर्छ भन्ने विश्वास राख्छौं। जलनका बिरामीले लामो र चुनौतीपूर्ण स्वास्थ्यलाभको यात्रा तय गर्नुपर्ने हुन्छ। सीमित स्वास्थ्य पूर्वाधारका कारण कुनै पनि परिवार गुणस्तरीय उपचार सेवाबाट वञ्चित हुनुहुँदैन। यस सहकार्यमार्फत हामी नेपाली समाजलाई दीर्घकालसम्म लाभ पुर्याउने स्वास्थ्य पूर्वाधारको विकासमा योगदान गरिरहेका छौं,” उनले भने।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार ज्ञवालीले जलनसम्बन्धी विशेषज्ञ उपचार सेवा सर्वसाधारणको पहुँचमा पुर्याउन धुलिखेल अस्पतालसँग सहकार्य गरिएको बताए।
“विशिष्टीकृत जलन उपचार सेवामा पहुँच अझै पनि धेरै नेपालीका लागि चुनौतीपूर्ण रहेको अवस्थामा धुलिखेल अस्पतालसँगको सहकार्यमार्फत हामी जलन उपचार सेवालाई थप सुदृढ गर्दै उपचार आवश्यक भएका बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न चाहन्छौं,” उनले भने।
ज्ञवालीले नयाँ वार्डलाई नबिल केयरका निरन्तर सामाजिक उत्तरदायित्वका प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।
धुलिखेल अस्पतालका संस्थापक तथा कार्यकारी निर्देशक डा. रामकण्ठ माकाजु श्रेष्ठले बैंकसँगको सहकार्यले नेपालमा विशेषज्ञ जलन उपचार सेवाको विकासमा योगदान पुर्याउने बताए।
“विशेषज्ञ जलन उपचार सेवाको पहुँच विस्तार गर्ने दिशामा आजको कार्यक्रम एउटा महत्वपूर्ण कदम हो। सामुदायिक अस्पतालका रूपमा, धुलिखेल अस्पतालले त्यस्ता ग्रामीण समुदायलाई सेवा प्रदान गर्दै आएको छ जहाँ विशेषज्ञ उपचार सेवा सहज रूपमा उपलब्ध नहुन सक्छ। नबिल बैंकसँगको सहकार्यमा हामी नेपालमा समग्र जलन उपचार सेवाको उत्कृष्ट नमुना बन्न सक्ने एक विशिष्टीकृत सुविधा विकास गर्दैछौं। यस अर्थपूर्ण साझेदारीले प्रत्येक जलन पीडितलाई गुणस्तरीय उपचार प्राप्त गर्ने अवसर दिलाउनुका साथै नयाँ सिराबाट जीवन सुरु गर्न मदत पुग्नेछ भन्ने हाम्रो विश्वास छ,” उनले भने।
नबिल बैंकले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत स्वास्थ्यलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ। नयाँ वार्डलाई नेपालमा जलन उपचार सेवाको पहुँच र गुणस्तर विस्तार गर्ने प्रयासका रूपमा लिइएको छ।











प्रतिक्रिया