८ मंसिर २०८३, मंगलबार

भारतीय जेनजी सौरभ दास प्रकरणमा प्रधानमन्त्री बालेन समेत जोडिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय युवा अभियन्ता सौरभ दासलाई बेलायत जानबाट रोकिएको घटनाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई समेत जोडेर भारतमा राजनीतिक बहस सुरु भएको छ।

भारतीय लोकसभा सदस्य महुआ मोइत्राले प्रधानमन्त्री शाहलाई सामाजिक सञ्जाल एक्समा सम्बोधन गर्दै दासको यात्रा रोकिएको विषयमा प्रश्न उठाएकी हुन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहसँग निकटता बढाइरहेको प्रसंग उल्लेख गर्दै आफ्नै देशका युवामाथि भने सरकारले कस्तो व्यवहार गरिरहेको छ भन्ने प्रश्न गरेकी छन्।

Dear @ShahBalen – our PM is cosying up to you & on other hand GenZ @SauravDassss stopped from flying out to speak at Oxford Union because his mother is of Nepali descent! You became PM on back of youth movement. See how our PM treats our youth! Shame.— Mahua Moitra (@MahuaMoitra) November 24, 2026

मोइत्राले दासकी आमा नेपाली मूलकी भएको विषय उठाउँदै यही कारण उनलाई अक्सफोर्ड युनियनको कार्यक्रममा सहभागी हुन बेलायत जान नदिइएको आरोप लगाएकी छन्। उनले शाह युवा आन्दोलनको पृष्ठभूमिबाट प्रधानमन्त्री बनेको स्मरण गराउँदै भारतीय युवामाथिको व्यवहारबारे पनि ध्यानाकर्षण गराएकी छन्।

यसैबीच, ककरोच जनता पार्टीका सहसंयोजक तथा प्रमुख प्रवक्ता दासले दिल्ली विमानस्थलमा अध्यागमन जाँचका क्रममा आफ्नो पासपोर्टमा रोक संकेत देखिएको भन्दै लन्डन उड्न नपाएको बताएका छन्। उनलाई डिसेम्बर १ मा अक्सफोर्ड युनियनले आयोजना गर्ने प्यानल छलफलमा सहभागी हुन निमन्त्रणा गरिएको थियो। बेलायत भ्रमणका क्रममा क्याम्ब्रिज, लन्डन स्कुल अफ इकोनोमिक्स र एडिनबर्गमा समेत कार्यक्रम तय भएको उनको दाबी छ।

तर भारतीय सञ्चारमाध्यमले सरकारी स्रोतलाई उद्धृत गर्दै दासको यात्रा रोकिनुको कारण उनको परिचयपत्रमा देखिएको विवरणसम्बन्धी त्रुटि भएको जनाएका छन्। एनडीटीभीका अनुसार पासपोर्टमा जन्मस्थान चेन्नई उल्लेख भए पनि त्यसमा त्रुटि रहेको भन्दै क्षेत्रीय पासपोर्ट कार्यालयले स्पष्टीकरण मागेको छ। द प्रिन्टले भने पासपोर्ट, आधार कार्ड र विद्यालयको प्रमाणपत्रमा जन्ममितिसम्बन्धी विवरण नमिलेको उल्लेख गरेको छ। यी विवरणबारे दासको प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

दासले भने आफूलाई अन्तर्राष्ट्रिय मञ्चमा बोल्नबाट रोकिएको भन्दै मोदी सरकारको आलोचना गरेका छन्। उनको यात्रा रोकिएको घटनाबारे महुआले प्रधानमन्त्री शाहलाई समेत सम्बोधन गरेपछि यो विषय भारतको आन्तरिक राजनीतिक विवादसँगै नेपालमा पनि चासोको विषय बनेको छ।

यस विषयमा प्रधानमन्त्री शाहले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया दिएका छैनन्।