काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको आलोचना र प्रश्न उठाउन आफू पछि नहट्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत दबाब सिर्जना गरेर आफ्नो आवाज रोक्न खोजिए पनि त्यसबाट प्रभावित नहुने उनको भनाइ छ।
मंगलबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले आफूलाई पक्राउ गर्ने प्रयास भए त्यसका लागि तयार रहेको चुनौती दिए। उनले प्रहरी पठाउँदा हतकडीसमेत लिएर आउन सरकारलाई व्यंग्यात्मक शैलीमा भने।
उनले भने,’मलाई समाउने भन्छन्। पक्राउ गर्न आउँदा खाली हात नआउनुहोला, हतकडी लिएर आउनु। खाली हात चाही जान्नँ। यत्ति कुरा हो। न कांग्रेसले आफ्नो चरित्र लुज गर्छ न कांग्रेसको नेतृत्वले चरित्र लुज र्छ। हामीले ठीक प्रश्न गर्न छाडौं भने, हामीलाई सकैले तर्साएर तर्सन थाल्यौं भने कांग्रेस होइन। हिजो बलले तर्साउन खोजिन्थ्यो आज सामाजिक सञ्जालले तर्साउन खोजिन्छ। प्रश्न गर्न छोड्दिनँ, तर्साएर तर्सिने मान्छे होइन।
थापाले आफू सभापति बनेपछि विभिन्न दलका शीर्ष नेतासँग भेटघाट र संवाद गर्दै आएको पनि स्पष्ट पारे। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पाँचपटक भेटिसकेको उल्लेख गर्दै उनले अन्य दलका अध्यक्षसँग पनि राजनीतिक छलफल हुनु स्वाभाविक भएको बताए।
उनले भने,’मैले कांग्रेसको सभापति भइसकेपछि केपी ओलीलाई पाँच चोटि भेटेको छु। अस्ति मैले पाँचौँ पटक भेटेँ। म कांग्रेस सभापति हुँ, एमालेको अध्यक्षसँग मेरो भेटघाट हुन्छ, माओवादी अध्यक्षसँग भेटघाट हुन्छ, रास्वपाको सभापतिसँग भेटघाट हुन्छ। प्रधानमन्त्रीले कोहीसँग भेटघाट नगर्ने भएको हुनाले उहाँसँग हुँदैन, बाँकी सबैसँग हुन्छ,’।











प्रतिक्रिया