काठमाडौं । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकार कुमार बेनसहितका व्यक्तिमाथि प्रमाण नष्ट गरेको आरोपमा अनुसन्धान गर्न माग गर्दै प्रहरीमा जाहेरी परेको छ।
वाईसीएलका केन्द्रीय सचिव धनबहादुर वलीले जिल्ला प्रशासन, सरकारी वकिल र प्रहरी परिसर काठमाडौंमा हुलाकमार्फत जाहेरी पठाएका हुन्। यसअघि प्रहरी कार्यालय पुगेर जाहेरी दिन खोज्दा प्रहरीले लिन अस्वीकार गरेको उनको भनाइ छ।
झापाका इनम सापकोटा प्रहरी हिरासतमा रहेका बेला उनको मोबाइलबाट अनुसन्धानसँग सम्बन्धित प्रमाण मेटाउने र अनुसन्धान प्रभावित पार्ने काम भएको वलीको आरोप छ। जाहेरीमा बेनसँगै प्रधानमन्त्री तथा गृहमन्त्रीको सचिवालयका केही कर्मचारीको संलग्नताबारे पनि अनुसन्धान गर्न माग गरिएको छ।
मोबाइल कहाँ–कहाँ लगिएको भन्ने विवरण, फरेन्सिक परीक्षण रिपोर्टका स्क्रिनसट तथा सम्बन्धित फोटो र भिडियोसमेत जाहेरीसँगै बुझाइएको वलीले जनाएका छन्।
यता जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले कानुनसम्मत नदेखिएका जाहेरी प्रहरीले दर्ता नगर्न सक्ने बताए। प्रहरीमा दर्ता नभए सरकारी वकिल कार्यालयमार्फत कानुनी प्रक्रिया अघि बढाउन सकिने उनको भनाइ छ।











प्रतिक्रिया