८ मंसिर २०८३, मंगलबार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रहितका विषय प्राथमिकतामा परेन : महासचिव पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्त्वपूर्ण विषयले प्राथमिकता पाउन नसकेको बताएका छन् ।

प्रेस चौतारी नेपाल दाङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा हवाई रुटसम्बन्धी सहमति हुनु सकारात्मक भए पनि नेपालको सीमा समस्या, सन् १९५० को सन्धि पुनरावलोकन, नेपाली उत्पादनको भारतीय बजारमा सहज पहुँचलगायत विषयमा छलफल हुन नसकेको टिप्पणी गरे ।

उनले विगतमा विदेशी ऋण लिनु हुँदैन भन्ने मान्यता राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले अहिले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नुले उसको पुरानो मान्यतामा परिवर्तन आएको देखिएको बताए ।

‘नचाहिँदो भ्रमबाट रास्वपा मुक्त भएको छ’

महासचिव पोखरेलले विदेशी ऋण नेपालको विकासका लागि आवश्यक रहेको कुरा अहिलेको सरकारले समेत स्वीकार गरेको बताए ।

उनले भने, “विगतमा लोकतन्त्रका लागि लडेका दललाई जुन आक्षेप लगाइएको थियो, त्यो कति मिथ्या रहेछ भन्ने कुराको पुष्टि भएको छ । विदेशीको ऋण लिनुपर्ने रहेछ भन्ने कुरा स्वयं प्रधानमन्त्रीले स्वीकार गर्नुभएछ र भारतबाट प्राप्त ऋणलाई प्रमुख उपलब्धि भन्दै गर्व गर्नुभएको छ ।”

भारतको एक्जिम बैंकबाट प्राप्त ऋण कार्यान्वयनमा देखिएका जटिलता र त्यसबाट सडक निर्माणमा भइरहेको ढिलाइले ऋण परिचालनको व्यवहारिक कठिनाइसमेत पुष्टि गरेको उनको भनाइ थियो । 

“जे होस्, नचाहिँदो भ्रमबाट रास्वपा मुक्त भएको छ । उसले नेपालको विकासका लागि ऋण आवश्यक छ भन्ने कुरा बुझेछ,” उनले टिप्पणी गरे ।

हवाई रुट सहमति सकारात्मक, तर कार्यान्वयन मुख्य प्रश्न

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक रूपमा लिनुपर्ने बताउँदै महासचिव पोखरेलले त्यसको कार्यान्वयनमा भने आशङ्का व्यक्त गरे ।

उनले विगतमा पञ्चायतकालमा समेत यस्तै सहमति भएको स्मरण गराउँदै भने, “एयर रुटको सहमति सकारात्मक भएको छ । तर कार्यान्वयन प्रमुख कुरा हो । पञ्चायतमा पनि यस्तो सहमति भएको थियो, तर कार्यान्वयनमा आएन ।”

प्रधानमन्त्रीले काठमाडौं महानगरपालिकामा ग्रेटर नेपालको नक्सा राखेर बसेको सन्दर्भ उल्लेख गर्दै भारत भ्रमणका क्रममा सीमा र ऐतिहासिक सन्धिसम्बन्धी विषय उठाउने अपेक्षा आफूले गरेको उनले बताए । 

“ग्रेटर नेपालको नक्सा काठमाडौं महानगरपालिकामा टाँसेर बस्ने प्रधानमन्त्रीले नेपाल–भारत सीमाका बारेमा छलफल गर्नुहोला भन्ने लागेको थियो । कम्तीमा सुगौली सन्धिपछिका विषयमा छलफल हुनुपर्थ्यो । तर त्यो छलफलको विषय नै बनेन,” उनले भने ।

उनले सन् १९५० को नेपाल–भारत सन्धिको विषयमा समेत प्रधानमन्त्रीले प्रवेश गर्न नसकेको टिप्पणी गरे । 

त्यसैगरी, नेपाली चिया, अलैँची तथा तरकारी भारतीय बजारमा सहज रूपमा प्रवेश गर्न नसकिरहेको समस्यालाई भ्रमणको एजेण्डामा समेट्न नसकिएको उनको भनाइ थियो ।

 “भारतबाट आउने उत्पादनले प्राथमिकता पायो, तर आफ्नो उत्पादन भारतमा पुर्‍याउने कुरामा ध्यान गएन,” पोखरेलले भने ।

सरकार सुशासन र विकास दुवै मोर्चामा कमजोर 

महासचिव पोखरेलले वर्तमान सरकार गठन हुँदा नागरिकले सुशासन र विकासको अपेक्षासहित मतदान गरेको भए पनि ती अपेक्षा पूरा हुन नसकेको बताए ।

उनले सरकारले विगतमा ‘नो लाइन’को नारा दिए पनि अहिले सरकारी सेवा प्रवाहमा झन् अव्यवस्था देखिएको टिप्पणी गरे । 

“पहिलो कुरा त यो सरकारलाई जनताले किन मतदान गरे भन्ने कुरा प्रमुख हुन्छ । सुशासन र विकासका लागि नागरिकले मतदान गरेका थिए । सुशासनका लागि उहाँहरूले ‘नो लाइन’ भन्नुहुन्थ्यो, तर विगतको भन्दा भद्रगोल भएको छ,” उनले भने ।

विदेश जाने युवाको सङ्ख्या र लाइन बढिरहेको, नेपालमा लगानी भित्र्याउने वातावरण निर्माण हुन नसकेको तथा विकास निर्माणका कामले गति लिन नसकेको उनको टिप्पणी छ । 

सरकारले पुँजीगत खर्च गर्न नसकेको विषय उठाउँदै उनले विकास निर्माण सरकारको प्राथमिकतामा पर्न नसकेको बताए ।

विपद् व्यवस्थापनमा सरकारको भूमिका निराशाजनक

महासचिव पोखरेलले विपद् व्यवस्थापनमा समेत सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए ।

विशेषगरी भोटेकोसी बाढीबाट विस्थापित नागरिकको पुनर्स्थापना र व्यवस्थापनमा सरकारले खेलेको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्दै उनले भने, “विपद् व्यवस्थापनको सवालमा यो सरकार निकम्मा भएको छ । भोटेकोसी बाढीका विस्थापितका सन्दर्भमा यो सरकारले खेलेको भूमिका अत्यन्त निराशाजनक छ । यसमा सरकार निकम्मा साबित भएको छ ।”

त्यस्तै, बजारमा मूल्यवृद्धि र अराजकता बढिरहेको भन्दै उनले त्यसलाई नियन्त्रण तथा व्यवस्थापन गर्न सरकार असफल भएको बताए । 

“बजारमा एक प्रकारको अराजकता छाएको छ । मूल्य आकासिएको छ । त्यसलाई सरकारले व्यवस्थापन गर्न सकेको छैन,” उनले भने ।

सरकार सामाजिक सञ्जालमा देखिने गतिविधिमा केन्द्रित भएको तर जनताका वास्तविक समस्याको समाधानमा कमजोर रहेको उनको टिप्पणी थियो । 

“सरकार सोसल मिडियामा सफल भएको छ । यथार्थमा सरकार कमजोर साबित भएको छ । जनताका सरोकारका मुद्दा सम्बोधन गर्ने कुरामा सरकार असफल साबित भएको छ,” पोखरेलले भने ।

जनतामा बढ्दो निराशाले बङ्गलादेशको अवस्था निम्त्याउन सक्ने चेतावनी

महासचिव पोखरेलले सरकारका कामकारबाहीप्रति जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै त्यसले समाजमा असन्तुष्टि र अराजकता निम्त्याउन सक्ने चेतावनी दिए । 

उनले भने, “यसले जनतामा निराशा बढाउँदै छ । यसले फेरि समाजमा अराजकता जन्माउँछ र बङ्गलादेशको जस्तो अवस्था आउँछ ।”

पुराना राजनीतिक दललाई जनताले निर्वाचनमार्फत दण्डित गरेको उल्लेख गर्दै उनले ती दलले आफूलाई नयाँ विकल्पका रूपमा स्थापित गर्न नसके लोकतन्त्र नै दुर्घटनामा पर्न सक्ने धारणा राखे । 

“नेपालका पुराना राजनीतिक दललाई गएको निर्वाचनमा जनताले दण्डित गरे । उनीहरूले आफूलाई नयाँ विकल्पका रूपमा अघि बढाएनन् भने लोकतन्त्र दुर्घटनामा पर्न सक्दछ,” उनले भने ।

संविधान निर्माण र लोकतन्त्र स्थापनामा भूमिका खेलेका राजनीतिक दलहरूले जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्नुपर्ने उनको भनाइ थियो । 

यसै सन्दर्भमा एमालेले राष्ट्रिय भेला आयोजना गरेर जनतासँगको सम्बन्ध जोड्ने प्रयास सुरु गरेको उनले जानकारी दिए ।

तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्छ 

महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सरकारले निर्वाचन गर्ने कि नगर्ने भन्ने विषयमा अन्योल सिर्जना गरेको बताए । 

स्थानीय तह र प्रदेश सभाको निर्वाचन एक पटक गर्ने कि छुट्टाछुट्टै गर्ने भन्ने अन्यौलतामा सरकार रुमलिएको उनको भनाइ छ ।

स्थानीय तहलाई कमजोर बनाउने दिशामा सरकार अघि बढेको भन्दै उनले एमाले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने पक्षमा रहेको स्पष्ट पारे ।

स्थानीय तहको म्याद वैशाखमा सकिने र प्रदेश सभाको समय मङ्सिरसम्म रहेकोले दुवै निर्वाचन एकै साथ हुन नसक्ने उनको धारणा छ

“स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने कुरा मान्य हुँदैन । स्थानीय तह र प्रदेशको निर्वाचन लोकतन्त्रको सुदृढीकरणमा अति महत्त्वपूर्ण छ,” उनले भने ।

स्थानीय तह र प्रदेशसभाको निर्वाचनले राष्ट्रिय सभाको गठन तथा राष्ट्रपतिको निर्वाचन प्रक्रियासँग समेत सम्बन्ध राख्ने भएकाले निर्वाचन समयमा हुन नसके लोकतान्त्रिक प्रक्रियामै असर पर्न सक्ने उनको भनाइ थियो ।

संघीय लोकतन्त्रका आधारभूत संरचनामा असर पर्ने गरी संविधान संशोधन गर्न मिल्दैन

संविधान समय र आवश्यकताअनुसार परिवर्तन गर्न सकिने भए पनि संघीय लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउने गरी संशोधन गर्न नहुने महासचिव पोखरेलले बताए ।

उनले संसद् र राजनीतिक दलहरूलाई बेवास्ता गरेर अघि बढ्ने प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक हुन नसक्ने धारणा राखे ।

“संविधान समयअनुसार परिवर्तन गर्न सकिन्छ, तर संघीय लोकतन्त्रका आधारभूत संरचनालाई खलल पुर्‍याउने गरी संशोधन गर्न सकिँदैन,” उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीले संसद् र राजनीतिक दलहरूलाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै उनले मुलुकको लोकतन्त्रको रक्षाका लागि एमाले अन्य राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

प्रधानमन्त्रीको स्वेच्छाचारितालाई नियन्त्रण गर्न नसके रास्वपा पनि संकटमा पर्ने

महासचिव पोखरेलले रास्वपाले प्रधानमन्त्रीको स्वेच्छाचारितालाई नियन्त्रण गर्न नसके स्वयं रास्वपा पनि संकटमा पर्नसक्ने चेतावनी दिए ।

उनले भने, “रास्वपाले प्रधानमन्त्रीको स्वेच्छाचारितालाई लगाम लगाउन नसक्ने हो भने ऊ आफैँ संकटमा पर्दछ ।”

निर्वाचनमा वामशक्तिबिच तालमेल हुनसक्छ 

पोखरेलले आउने स्थानीय तहमा वामशक्तिबिच तालमेल हुनसक्ने बताए । वामपन्थीबिच तालमेल गर्दा मत ट्रान्सफर गर्न सकिन्छ भन्ने चेत नेकपाका नेताहरूलाई फिरेको  उनले बताए । विगतमा माओवादीले एमाले र कांग्रेससँग चुनावी तालमेल गर्दाको अनुभवबाट यो पाठ सिकेको उनको भनाइ छ । 

तालमेलको विषममा अनौपचारिक कुराहरू भएका भए पनि कुनै ‌औपचारिक छलफल भने नभएको उनले प्रष्ट पारे ।

“तल तालमेल गर्दा राम्रो हुन्छ भन्ने कुरा अनौपचारिक रूपमा उठेका छन्, त्यति हो,” उनले भने ।