८ मंसिर २०८३, मंगलबार

नेपाल–भारत संयुक्त विज्ञप्ति : मित्रता कि निर्भरताको नयाँ अध्याय ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–टेकराज पौडेल

नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशबीचको कूटनीतिक सम्बन्ध मात्र होइन– यो इतिहास, संस्कृति, भूगोल, अर्थतन्त्र र जनस्तरको आत्मीयतासँग जोडिएको सम्बन्ध हो । त्यसैले भारतसँग सहकार्य गर्नु नेपालको आवश्यकता हो । तर सहकार्यको नाममा राष्ट्रिय स्वार्थ, सार्वभौमिकता र दीर्घकालीन आर्थिक हितलाई कमजोर पार्ने छुट कसैलाई पनि हुन सक्दैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेको राजकीय भ्रमणपछि जारी २४ बुँदे संयुक्त विज्ञप्ति अध्ययन गर्दा केही सकारात्मक सहमति र सम्भावनाहरू देखिन्छन् । तर त्यससँगै नेपालको कूटनीतिक प्राथमिकता, वार्ताको तयारी र राष्ट्रिय हितको संरक्षणसम्बन्धी गम्भीर प्रश्नहरू पनि उठेका छन् ।

कूटनीतिक तयारी कमजोर कि राष्ट्रिय प्राथमिकता अस्पष्ट ?

भारतजस्तो शक्तिशाली छिमेकीसँग उच्चस्तरीय वार्ता गर्नुअघि नेपालले आफ्नो राष्ट्रिय प्राथमिकता स्पष्ट रूपमा निर्धारण गर्नुपर्थ्यो । पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, अनुभवी कूटनीतिज्ञ, जलस्रोतविद् तथा परराष्ट्र मामिलाका विज्ञहरूसँग पर्याप्त परामर्श गरेर साझा राष्ट्रिय धारणा निर्माण गर्न सकिन्थ्यो ।

तर भ्रमणपछि सार्वजनिक भएको संयुक्त विज्ञप्ति हेर्दा नेपालले आफ्ना एजेन्डा स्थापित गर्न कति प्रभावकारी तयारी गर्‍यो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ । कतै नेपालले आफ्ना प्राथमिकता स्पष्ट पार्नुभन्दा भारतीय प्रस्तावहरूलाई स्वीकार गर्ने प्रक्रियालाई नै उपलब्धि ठानेको त होइन ?

कूटनीति भनेको औपचारिक भेटघाट, स्वागत समारोह र संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नु मात्र होइन । कूटनीतिको वास्तविक सफलता आफ्नो देशको हित स्थापित गर्न सक्ने क्षमता, वार्तामा देखाउने दृढता र सम्झौतामा सुरक्षित गरिने राष्ट्रिय लाभबाट मापन हुन्छ ।

सीमा विवादमा मौनता किन ?

नेपालको सबैभन्दा संवेदनशील र गम्भीर राष्ट्रिय मुद्दा कालापानी, लिपुलेक र लिम्पियाधुरा हो । सुस्ताको सीमा समस्या पनि उत्तिकै महत्त्वपूर्ण छ । तर संयुक्त विज्ञप्तिमा यी विवादित क्षेत्रहरूको नाम समेत उल्लेख नहुनु आफैँमा गम्भीर प्रश्न हो ।

सीमा स्तम्भको मर्मत तथा सम्भारमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गर्दै बाँकी सीमा समस्यामा काम गर्न परराष्ट्र सचिवहरूलाई निर्देशन दिइएको छ । तर सीमा स्तम्भ मर्मत गर्नु नियमित प्राविधिक प्रक्रिया हो भने अतिक्रमित भूभाग फिर्ता ल्याउनु र सीमा विवाद समाधान गर्नु राजनीतिक तथा कूटनीतिक जिम्मेवारी हो ।

यी दुई विषयलाई एउटै उपलब्धिका रूपमा प्रस्तुत गर्न मिल्दैन ।

सुस्तामा पछिल्ला दशकहरूमा नारायणी नदीको धार परिवर्तन तथा सीमासम्बन्धी विवादका कारण नेपाली भूभाग प्रभावित भएको विषयलाई पनि सरकारले गम्भीरतापूर्वक उठाउनुपर्थ्यो । त्यहाँ नेपाली पक्षले आफ्नै स्रोतबाट तटबन्ध निर्माण गरिरहेको अवस्थामा भारतीय पक्षबाट अवरोध भएको भन्ने विषयसमेत सार्वजनिक रूपमा उठेको छ । यस्तो संवेदनशील विषय प्रधानमन्त्रीस्तरको वार्तामा स्पष्ट रूपमा सम्बोधन हुन नसक्नु दुःखद पक्ष हो ।

सीमा विवाद समाधानका लागि गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनसमेत भारतले बुझ्न र सार्वजनिक गर्न तयार नदेखिएको अवस्थामा फेरि परराष्ट्र सचिवहरूलाई निर्देशन दिने औपचारिकताले मात्र समस्या समाधान हुन्छ भन्ने विश्वास गर्न सकिँदैन ।

नेपालको सीमा समस्या कुनै सामान्य प्रशासनिक विषय होइन । यो राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक अधिकारसँग जोडिएको विषय हो ।

सहायता कि ऋणको नयाँ भार?

भारतले नेपाललाई १५ हजार करोड भारतीय रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गरेको छ । तर यसमध्ये ३ हजार ५०० करोड मात्र अनुदान हो भने ११ हजार ५०० करोड ऊर्जा क्षेत्रका लागि ऋण सुविधा हो । यसको अर्थ घोषित सहयोगको ठूलो हिस्सा अनुदान नभई ऋण हो ।

यहाँ प्रश्न उठ्छ– नेपालले यसलाई कति ठूलो उपलब्धि मान्ने ?

नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रको लगानी बढिरहेको छ । निर्माणाधीन तथा प्रस्तावित आयोजनाहरूबाट आगामी वर्षहरूमा विद्युत् उत्पादन उल्लेख्य रूपमा बढ्ने सम्भावना छ । यस्तो अवस्थामा उत्पादन मात्र बढाउने सोचले ठूलो ऋण लिनु पर्याप्त हुँदैन । बजार, आन्तरिक खपत, प्रसारण लाइन र निर्यातको सुनिश्चितता पनि उत्तिकै आवश्यक हुन्छ ।

सबैभन्दा महत्त्वपूर्ण प्रश्न भारतले ऋणबाट निर्माण हुने आयोजनाको विद्युत् खरिद गर्ने ग्यारेन्टी गर्छ कि गर्दैन भन्ने हो ।

नेपालले ऋण लिने, आयोजना निर्माण गर्ने, ब्याज तिर्ने तर उत्पादित विद्युत् बिक्रीको सुनिश्चितता नहुने अवस्था स्वीकार गर्नु हुँदैन ।

नेपालले ऋण लिने, आयोजना निर्माण गर्ने, ब्याज तिर्ने तर उत्पादित विद्युत् बिक्रीको सुनिश्चितता नहुने अवस्था स्वीकार गर्नु हुँदैन । भारतले नेपाललाई ऊर्जा क्षेत्रमा ऋण उपलब्ध गराउने हो भने त्यसबाट उत्पादित विद्युत् खरिदको दीर्घकालीन सुनिश्चितता पनि गर्नुपर्छ ।

अन्यथा ऋणको दायित्व नेपालमाथि रहने र बजारको निर्णायक नियन्त्रण अर्को पक्षको हातमा रहने जोखिम उत्पन्न हुन सक्छ ।

जलस्रोतमा भारतको चासो, नेपालको लाभ कहाँ ?

नेपालका नदी, जलविद्युत् आयोजना र जलस्रोतमा भारतीय कम्पनीहरूको चासो नयाँ विषय होइन । विभिन्न आयोजनामा अनुमतिपत्र लिइए पनि निर्माण कार्य अघि बढ्न नसकेको अवस्था छ । सरकारले यस्ता आयोजनाको अनुमतिपत्र, म्याद, लगानी र कार्यप्रगतिको पारदर्शी समीक्षा गर्नुपर्छ ।

तल्लो अरुणको ६६९ मेगावाट आयोजनाको शिलान्यास सकारात्मक हुन सक्छ । पञ्चेश्वर, सप्तकोशी र सुनकोशी आयोजनालाई अगाडि बढाउने सहमति पनि स्वागतयोग्य छ । तर पञ्चेश्वर परियोजनाको चर्चा दशकौँदेखि हुँदै आएको छ । हरेक उच्चस्तरीय भ्रमणमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अन्तिम रूप दिने र काम अघि बढाउने प्रतिबद्धता दोहोरिन्छ, तर ठोस परिणाम भने अपेक्षाअनुसार आउन सकेको छैन ।

आयोजनाको नाम घोषणा गर्नु र त्यसबाट नेपालको वास्तविक लाभ सुनिश्चित गर्नु दुई फरक कुरा हुन् ।

भारतीय लगानीलाई स्वागत गर्न सकिन्छ । तर विद्युत् खरिद, लगानी प्रतिफल, निःशुल्क ऊर्जा, आयोजना सञ्चालन अवधि र हस्तान्तरणका सर्त स्पष्ट हुनुपर्छ । जलस्रोत नेपालको दीर्घकालीन आर्थिक सम्पत्ति हो । यसलाई क्षणिक राजनीतिक उपलब्धिका लागि हतारमा सम्झौताको विषय बनाउनु हुँदैन ।

रेलमार्ग : भविष्यको प्रविधि कि पुरानै सोच ?

रक्सौल–काठमाडौं ब्रोडगेज रेलमार्गको अन्तिम स्थलगत सर्वेक्षण सम्पन्न भएको घोषणाले अर्को महत्त्वपूर्ण बहस जन्माएको छ ।

रेलमार्ग नेपालका लागि आवश्यक छ । तर कस्तो रेलमार्ग आवश्यक छ भन्ने प्रश्न अझ महत्त्वपूर्ण हो ।

नेपालले छिमेकीको विद्यमान रेल प्रणालीसँग मिल्ने नाममा आफ्नो दीर्घकालीन आवश्यकता र प्रविधिगत विकल्पलाई सीमित गर्नु हुँदैन । ब्रोडगेज रेलमार्गको निर्माण लागत, सञ्चालन प्रणाली, प्राविधिक उपयुक्तता र भविष्यमा विस्तार गर्न सकिने सम्भावनाको निष्पक्ष अध्ययन हुनुपर्छ ।

जापान, दक्षिण कोरिया तथा अन्य विकसित मुलुकहरूले अपनाएका आधुनिक रेल प्रविधि र उपयुक्त गेज प्रणालीसँग तुलना गरेर नेपालले आफ्नै आवश्यकताअनुसार मापदण्ड निर्धारण गर्नुपर्छ ।

आज निर्माण हुने पूर्वाधार भोलिका पुस्ताका लागि आर्थिक तथा प्राविधिक बोझ बन्नु हुँदैन । विदेशी सहयोग स्वीकार गरे पनि प्रविधि छनोट गर्ने अधिकार नेपालकै हुनुपर्छ ।

हवाई मार्ग र पारवहनमा सीमित उपलब्धि

भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति सकारात्मक छ । तर नेपालले खोजेको विषय केवल एउटा क्षेत्रीय हवाई रुट होइन । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि आवश्यक अन्तर्राष्ट्रिय हवाई प्रवेशमार्गको सुनिश्चितता पनि उत्तिकै महत्त्वपूर्ण छ ।

त्यसैले एउटा हवाई रुटसम्बन्धी सहमतिलाई नेपालको सम्पूर्ण हवाई पहुँचको समस्या समाधान भएको अर्थमा प्रस्तुत गर्नु उचित हुँदैन ।

त्यस्तै, कान्डला र पारादीप बन्दरगाहसम्म नेपालको पहुँच विस्तार गर्ने सहमति पनि सकारात्मक देखिन्छ । तर दूरी, ढुवानी खर्च, समय र व्यावसायिक प्रतिस्पर्धाका आधारमा यसको वास्तविक उपयोगिता परीक्षण गर्नुपर्छ ।

नेपालका लागि कोलकाता, हल्दिया र विशाखापट्टनमका विद्यमान सुविधालाई अझ सहज, सस्तो र प्रभावकारी बनाउनु पनि प्राथमिकतामा रहनुपर्छ ।

नयाँ विकल्प थपिनु राम्रो हो । तर विकल्प थपिएको भरमा त्यसलाई ठूलो उपलब्धि मान्नु बुद्धिमानी हुँदैन । उपलब्धिको वास्तविक मापन त्यसबाट नेपालले प्राप्त गर्ने आर्थिक लाभ हो ।

आठ समझदारीपत्र : अवसरसँगै सावधानी पनि

शिक्षा, सुरक्षा, स्वास्थ्य, फरेन्सिक विज्ञान, भूउपग्रह सञ्चार, आयुर्वेद र प्रविधिसम्बन्धी आठ समझदारीपत्रमध्ये केही नेपालका लागि उपयोगी हुन सक्छन् ।

नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को शाखा स्थापना गर्ने विषयले उच्च शिक्षामा नयाँ अवसर सिर्जना गर्न सक्छ । तर त्यसको शैक्षिक स्वायत्तता, अनुसन्धानको स्वतन्त्रता, संस्थागत नियन्त्रण र नेपालको शैक्षिक आवश्यकतासँगको सम्बन्ध स्पष्ट हुनुपर्छ ।

त्यस्तै, भूउपग्रह सञ्चार तथा प्रविधि सहकार्यमा डेटा सुरक्षा, सूचनाको गोपनीयता र डिजिटल सार्वभौमिकताको विषयलाई बेवास्ता गर्न मिल्दैन ।

प्रविधि सहकार्य विकासको अवसर हो, तर त्यसले भविष्यमा सिर्जना गर्न सक्ने निर्भरता र जोखिमको मूल्याङ्कन पनि उत्तिकै आवश्यक छ ।

सहयोगको स्वागत गरौँ, तर राष्ट्रिय हितको मूल्यमा होइन ।

मित्रता बराबरीको हुनुपर्छ, निर्भरताको होइन

यस भ्रमणमा पेट्रोलियम पाइपलाइन विस्तार, भण्डारण केन्द्र, शिक्षा, स्वास्थ्य, सुरक्षा तथा पूर्वाधार विकासका क्षेत्रमा केही सकारात्मक सहमति भएका छन् । तिनको प्रभावकारी कार्यान्वयन हुन सके नेपालले लाभ लिन सक्छ । तर उपलब्धि र कमजोरी दुवैको निष्पक्ष समीक्षा गर्नु नै जिम्मेवार राजनीतिक दृष्टिकोण हो ।

नेपालले भारतसँग सम्बन्ध बिगार्नुपर्ने कुनै कारण छैन । भारत नेपालको महत्त्वपूर्ण छिमेकी र विकास साझेदार हो । तर सम्बन्ध राम्रो राख्ने नाममा आफ्ना राष्ट्रिय मुद्दा ओझेलमा पार्नु पनि कूटनीतिक परिपक्वता होइन ।

भारतले नेपालको सार्वभौमिकता, सीमा अधिकार र आर्थिक हितलाई समान महत्त्व दिनुपर्छ । नेपालले पनि आफ्नो तयारी, अध्ययन, संस्थागत क्षमता र वार्तागत सामर्थ्य बलियो बनाउनुपर्छ ।

हामीलाई भारतसँग शत्रुता होइन, सम्मानजनक साझेदारी चाहिएको हो । सहायता चाहिन्छ, तर ऋणको पासो होइन । लगानी चाहिन्छ, तर असमान सर्तमा होइन । विकास चाहिन्छ, तर राष्ट्रिय स्वार्थको मूल्यमा होइन ।

नेपालले आफ्नो भविष्य अरूको सद्भावनामा मात्र छोडेर होइन, आफ्नै राष्ट्रिय सामर्थ्य, स्पष्ट नीति र दृढ कूटनीतिक अडानका आधारमा निर्माण गर्नुपर्छ ।

अन्ततः मित्रता बराबरीको हुनुपर्छ, निर्भरताको होइन । छिमेकीसँगको सम्बन्ध विश्वास र सहकार्यमा आधारित हुनुपर्छ, तर नेपालको कूटनीतिको पहिलो र अन्तिम आधार नेपालको राष्ट्रिय हित नै हुनुपर्छ ।