रौतहट । रौतहटमा मोटरसाइकलको सामान्य ठक्करपछि भएको विवादले हिंसात्मक रूप लिँदा एक युवक धारिलो हतियारको प्रहारबाट घाइते भएका छन् । ठक्कर दिने मोटरसाइकल चालकले युवकलाई चक्कु प्रहार गरी सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका छन् ।
रौतहटको यमुनामाई गाउँपालिका–५ झुन्खुनवा चोकस्थित गौर–चपुर सडकखण्डमा आइतबार साँझ करिब ७ बजेर ५ मिनेटमा घटना भएको हो ।
प्रहरीका अनुसार भारतीय नम्बर प्लेट बीआर ०१ ई डब्लू ०६२७ को मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा राजपुर नगरपालिका–१ निवासी रविन्द्र यादवका करिब ३५ वर्षीय छोरा राजेश कुमार यादव सडकमा लडेका थिए ।
तरकारी किनेर घर फर्किरहेका यादवलाई ठक्कर दिएपछि मोटरसाइकल चालक भाग्न खोजेका थिए । उनलाई रोक्न र समात्न खोज्दा चालकले यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।
चालकले यादवको पिठ्युँ, बायाँ हात तथा दुवै खुट्टामा चोट पुर्याएर मोटरसाइकल घटनास्थलमै छाड्दै फरार भएका थिए ।
घटनालगत्तै सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म बमनहरबाट प्रहरी वरिष्ठ नायब निरीक्षकको कमाण्डमा चार जना र जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्रहरी निरीक्षक जीवन मैनालीको नेतृत्वमा १७ जना गरी २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घाइते यादवलाई तत्काल प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मण शाहीका अनुसार घटनामा प्रयोग भएको मोटरसाइकल नियन्त्रणमा लिइएको छ । फरार चालकको पहिचान तथा खोजी भइरहेको उनले बताए ।
घटनापछि स्थानीयले केही समय सडक अवरुद्ध गरेका थिए । प्रहरीको पहलमा अवरुद्ध सडक पुनः सञ्चालनमा आएको छ । घटनास्थल सशस्त्र प्रहरीको अ.प्र. पोस्ट बमनहरबाट करिब तीन किलोमिटर दक्षिणमा रहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया