२१ कार्तिक २०८३, शनिबार

‘थारू र पहाडेबीच फाटो ल्याउने कार्य आतंकवादी चरित्र, सुरक्षा निकायमाथिको आक्रमण बर्बर’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher Bahadur Deubaकाठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलालीको टीकापुरमा भएको घटनाले सामाजिक सदभाव बिथोल्ने प्रयास भएको भन्दै थारू अगुवा प्रतिनिधि र राजनीतिक दलहरूबीच भएको सदभाव फैलाउने निर्णयअनुरूप मेलमिलापको वातावरण बनाउन र संयमित रहन थारू–पहाडी समुदायलगायत सबैसँग आग्रह गर्नुभएको छ ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएको देउवाले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको अन्तिम समयमा जुटिरहेका बेलामा बिभिन्न क्षेत्र तथा समुदायबाट आ–आफ्ना मागहरू राख्नु र सन्तुष्टि तथा असन्तुष्टिका स्वरहरु मुखारित हुनु लोकतन्त्रमा स्वभाविक हुने बताउनुभएको छ ।

कैलालीको टीकापुरमा आज भएको घटनापछि विज्ञप्ति जारी गर्दै देउवाले आफ्ना माग राख्ने र दबाब सृजना गर्ने क्रममा सुरक्षा निकायमाथि भएको आक्रमणलाई बर्बर आक्रमणको संज्ञा दिनुभएको छ । उहाँले सो घटनाबाट आफू स्तब्ध भएको बताउनुभएको छ ।

उहाँले विज्ञप्तिमा जिल्ला प्रशासन कार्यालयमा थारु समुदायका अगुवाहरू र राजनीतिक दलका नेताहरूकाबीच मेलमिलाप र सदभाव बढाउने निर्णय भएको स्मरण गराउँदै आज अचानक आन्दोलनमा घुसपैठ भएका व्यक्तिहरूबाट राष्ट्र सेवक प्रहरीलाई जिउँदै जलाउने जस्तो अमानवीय र जघन्य अपराध भएको बताउनुभएको छ । उहाँले सो घटनाको भत्र्सनासमेत गर्नुभएको छ ।

कांग्रेस बरिष्ठ नेता देउवाले वर्षौदेखि मिलेर बसेको थारू समुदाय एवं पहाडी समुदायबीचमा दुस्मनी बढाउने र फाटो ल्याउने नियोजित षड्यन्त्र घृणित, निन्दनीय र आतंकवादी चरित्र भएको भन्दै भातृत्व, सदभाव र मेलमिलापमा फाटो ल्याउने षड्यन्त्रअनुरुप भएको र हुने यस खाले घटनालाई निस्तेज पार्न पनि सबैमा आग्रह गर्नुभएको छ ।

देउवाले विज्ञप्तिमा भन्नुभएको छ, ‘थारूका अगुवा प्रतिनिधि र राजनीतिक दलहरूबीच भएको सदभाव फैलाउने निर्णय अनुरूप मेलमिलापको वातावरण बनाउन र संयमित रहन थारू–पहाडी समुदायलगायत सबैसँग म हार्दिक अपील गर्दछु । साथै, घटनामा सहादत प्राप्त गर्ने सुरक्षाकर्मी आम नागरिकप्रति हार्दिक श्रद्धाञ्जलि एवं शोक संतप्त परिवारप्रति समवेदना व्यक्त गर्दछु ।’