काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र शान्ति सम्झौताविरुद्ध षड्यन्त्र गर्नेहरूविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
नेकपा भक्तपुरले शनिबार भक्तपुरमा आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा प्रचण्डले हजारौं घाइते, अपाङ्ग र लाखौं जनताको तपस्याबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने कोसिस भइरहेको तथा देशलाई अर्को दुर्घटनातिर लैजाने षड्यन्त्रको गन्ध आइरहेको बताए ।यसकाविरुद्ध नयाँ संकल्प र प्रतिबद्धतासहित फेरि आन्दोलित हुनुपर्ने अवस्था आएको उनले बताए ।
प्रचण्डले शान्ति सम्झौता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि खेलबाड गर्नेहरूविरुद्ध जिहाद छेड्नुपर्ने बेला आउँदै गरेको र ‘राष्ट्रिय जागरण अभियान’ त्यसैको तयारी भएको उल्लेख गरे ।
प्रचण्डले आफ्नो नेतृत्वको सरकारले राज्य संरचनालाई भ्रष्टाचारमुक्त बनाउने नयाँ अभियान सुरु गरे पनि अहिले खुलेआम भ्रष्टाचार गर्नेहरूलाई राज्यले पक्षपोषण र संरक्षण गर्ने काम गरेको आरोप लगाए ।
भ्रष्टाचारविरुद्ध लड्नेहरूलाई अनेक बहाना बनाएर थुनछेक गर्ने विचित्रको प्रचलन देखा परिरहेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
उनले संवैधानिक व्यवस्था अनुसार नै स्थानीय र प्रदेश तहको निर्वाचन गर्नुपर्नै भन्दै संविधान र कानुनमा छेडखानी गरिए नेपालमा फेरि दुर्घटना हुने धारणा राखे ।
प्रचण्डले स्थानीय निर्वाचनमा मूलभूत रूपमा विचार तथा मुद्दा मिल्ने शक्तिहरू विशेषतः वामपन्थीहरूसँग सहकार्य गर्ने विषयमा छलफल भइएरहेको जानकारी दिए । आगामी निर्वाचनमा माथिबाट टिका लगाएर टिकट दिनेभन्दा तल स्थानीय पालिकालाई नै निर्णय गर्न दिनुपर्ने उनको भनाइ छ ।











प्रतिक्रिया