५ मंसिर २०८३, शनिबार

रास्वपालाई प्रचण्डको चेतावनी– हावाहुरी ल्याएर चुनाव जित्ने सोच नराखे हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत प्रतिनिधि सभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय तह र प्रदेश सभाको निर्वाचन जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई चेतावनी दिएका छन् ।

शनिबार भक्तपुरमा नेकपा जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले संविधान र कानुनविपरीत स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकैपटक गराउने प्रयास नगर्न चेतावनी दिएका हुन् ।

उनले निर्वाचन एकैपटक गराउने प्रयासले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ लैजान सक्ने बताए ।

उनले स्थानीय तह र प्रदेश सभाको निर्वाचन संविधानले तोकेको कार्यकाल र समयसीमाअनुसार छुट्टाछुट्टै हुनुपर्ने स्पष्ट पारे ।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गतेसम्म र प्रदेश सभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले सोहीअनुसार निर्वाचन हुनुपर्ने उनको भनाइ छ ।

निर्वाचन आयोगले राजनीतिक दलका प्रमुख नेताहरूलाई बोलाएर निर्वाचनको तयारी र समयतालिकाबारे छलफल गरेको जानकारी दिँदै प्रचण्डले त्यसक्रममा स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने वा प्रदेशसभाको निर्वाचन पहिले गर्ने विषयमा फरक धारणा आएको बताए । संविधान र कानुनले निर्धारण गरेको व्यवस्थाभन्दा बाहिर गएर निर्वाचन गर्न नहुने धारणा आफूहरूले राखेको उनले स्पष्ट पारे ।

उनले संविधान र कानुन मिचेर निर्वाचन गराउने प्रयास भए राजनीतिक अस्थिरता बढ्ने र प्रतिगामी शक्तिले त्यसलाई अवसरका रूपमा प्रयोग गर्नसक्ने चेतावनी दिए ।