५ मंसिर २०८३, शनिबार

विश्व टेलिभिजन दिवस मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा यसको भूमिकाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९६ डिसेम्बर १७ मा प्रस्ताव नम्बर ५१र२०५ पारित गर्दै नोभेम्बर २१ लाई विश्व टेलिभिजन दिवसका रूपमा घोषणा गरेको थियो । यसअघि सन् १९९६ नोभेम्बर २१ र २२ तारिखमा संयुक्त राष्ट्रसङ्घले पहिलो विश्व टेलिभिजन मञ्च आयोजना गरेको थियो । उक्त मञ्चमा सञ्चार क्षेत्रका प्रमुख व्यक्तित्वहरू भेला भई परिवर्तनशील विश्वमा टेलिभिजनको बढ्दो महत्त्व र भूमिकाबारे छलफल गरेका थिए ।

टेलिभिजनलाई जनमत निर्माण गर्ने, सर्वसाधारणसम्म सूचना तथा समाचार प्रवाह गर्ने र सामाजिक चेतना अभिवृद्धि गर्ने प्रभावशाली सञ्चारमाध्यमका रूपमा स्वीकार गर्दै संयुक्त राष्ट्रसङ्घले यस दिवस मनाउने निर्णय गरेको हो ।

विश्व टेलिभिजन दिवसले सञ्चार, शिक्षा, सूचना तथा मनोरञ्जनका क्षेत्रमा टेलिभिजनको योगदानलाई स्मरण गराउनुका साथै समाजमा यसको सकारात्मक प्रभाव र जिम्मेवार पत्रकारिताको महत्त्वलाई समेत उजागर गर्दछ ।

सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल तथा सामाजिक सञ्जालको प्रभाव बढ्दै गए पनि विश्वभर सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा टेलिभिजनको भूमिका अझै महत्त्वपूर्ण मानिन्छ ।