काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने विशेष योजना सार्वजनिक गरेको छ ।
कम्पनीले २०८३ मंसिर २१ गतेसम्म सञ्चालन गर्ने यस अभियानअन्तर्गत तोकिएको अवधिभित्र व्यतित बीमालेख पुनर्जागरण गर्ने बीमितहरूलाई विलम्ब शुल्क (ब्याज)मा छुट प्रदान गर्ने भएको हो ।
कम्पनीका अनुसार व्यतित मितिबाट दुई वर्ष ननाघेका बीमालेखहरू पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट प्रदान गरिनेछ ।
त्यसैगरी, व्यतित मितिबाट दुई वर्ष नाघेका तर चार वर्ष ननाघेका बीमालेखहरू पुनर्जागरण गर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट उपलब्ध गराइनेछ । उक्त छुट सुविधा सम्पूर्ण बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने कम्पनीले जनाएको छ । साथै, यस सुविधाअन्तर्गत पुनर्जागरण गरिएको बीमालेख पछि बीमा अवधिभित्र कुनै पनि समयमा समर्पण गरिएमा छुट दिइएको सम्पूर्ण विलम्ब शुल्क समर्पण मूल्यबाट कट्टा गरिनेछ ।
कम्पनीका अनुसार विभिन्न कारणले व्यतित अवस्थामा रहेका बीमालेखहरूलाई पुनः सक्रिय गराई बीमित तथा उनीहरूको परिवारको आर्थिक सुरक्षालाई निरन्तरता दिनु यस अभियानको मुख्य उद्देश्य रहेको छ । यस अभियानले बीमितहरूलाई आफ्नो बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्नुका साथै जीवन बीमाको महत्त्व र आवश्यकताबारे थप सचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ ।
कम्पनीले योग्य बीमितहरूलाई अभियान अवधिभित्र आफ्नो व्यतित बीमालेख पुनर्जागरण गरी उपलब्ध छुट सुविधाको लाभ लिन आग्रह गरेको छ ।













प्रतिक्रिया