२१ कार्तिक २०८३, शनिबार

यी हुन कैलालीमा मारिएका एसएसपी न्यौपाने, यसरी भयो टिकापुर हत्याकाण्ड

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxman-Neupane-Police

धनगढी, ७ भदौ । कैलालीमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षकको मृत्यु भएपछि नेपाल प्रहरी स्तब्ध भएको छ । केही समयअघि मात्रै सेती अञ्चल प्रमुखको जिम्मेवारी सम्हाल्न कैलाली आइपुगेका थिए, एसएसपी लक्ष्मण न्यौपाने । प्रहरीभित्र निकै मिजासिलो मानिएका न्यौपाने नेकपा एमालेका नेता मुकुन्द न्यौपानेका काकाका छोरा हुन् ।

सोमबार बिहान थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त प्रदेश लेख्ने योजना बनाएको थियो । सोही अनुसार थारु समुदायका झण्डै ८ हजारभन्दा बढीको संख्यामा आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोक्यो । सुरक्षाकर्मीलाई धकेल्दै अघि बढेका आन्दोलनकारी पशु हाटमा पुगेपछि केहीबेर झड्प भयो । प्रहरीले अश्रुग्यास हानेपछि आन्दोलनकारी झनै उत्तेजित बने ।

फिल्डमै खटिएका एसएसपी न्यौपाने आन्दोलनकारीलाई सम्झाउन अघि बढे । तर, आन्दोलनकारीहरुले कब्जामा लिँदै उनीमाथि एक्कासी भाला र गोली प्रहार भयो । त्यसपछि घाइते बनेका उनलाई आन्दोलनकारीले शरीरमा पेट्रोल खन्याएर आगो लगाएको कैलाली प्रहरीले बताएको छ ।

प्रदर्शनकारीले सँगै रहेका एसएसपी न्यौपानेका अंगरक्षक माथि भाला प्रहार गरी हत्या गरेका थिए । मृत्यु हुने अन्यमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा छन् । यसैगरी, दुईजना प्रहरी जवानको समेत झडपमा परी मृत्यु भएको बताइएको छ ।

सशस्त्र प्रहरी मुकदर्शक बनेको नेपाल प्रहरीको आरोप

नेपाल प्रहरीले नसकेपछि बल प्रयोग गर्ने दायित्व सशस्त्रको प्रहरीको भएपनि सशस्त्र प्रहरी मुकदर्शक बनेको थियो । क्षेत्रीय डिआइजी खडानन्द चौधरीले समेत निषेधित क्षेत्रमा थारुहरुले हान्न आउँदा समेत बल प्रयोग गर्न निर्देशन दिएनन् । जसका कारण टिकापुरको झडपमा नेपाल प्रहरीका एसएसपी न्यौपानेसहित नेपाल प्रहरी र सशस्त्रकै झण्डै एक दर्जन सिपाहीको ज्यान गएको नेपाल प्रहरीका एक उच्च अधिकारीले बताए ।

उनका अनुसार, चर्चरोड र मनुवा चोकमा हजारौँ आन्दोलनकारी घरेलु हतियारसहित ओइरिंदै गर्दा सशस्त्र प्ररी भने बल प्रयोग नगरी आफ्नो ब्यारेकभित्र छिरेर बसेको थियो । घटनामा आन्दोलनकारी तर्फबाट एसएलआरको गोली हानिएको आशंका गरिएको छ ।

स्थानीय प्रशासनले टिकापुरलाई नियन्त्रणमा लिएको जनाएको छ । अहिले आन्दोलनकारी सडकमा नरहेको र धनगढीबाट थप सुरक्षा बल पठाइएको कैलालीका सहायक सिडिओ उदयबहादुर ठकुरीले जानकारी दिए । अहिलेसम्म टिकापुरमा सेना परिचालन गरिएको छैन । सेना परिचालन गर्ने या नगर्ने भन्ने बारेमा प्रमुख जिल्ला अधिकारीले परामर्श गरिरहेका छन् ।

सोमबारको प्रदर्शन तथा निषेधित क्षेत्र तोड्ने कार्यक्रमको नेतृत्व विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव एवं सभासद् रामजनम चौधरी लगायतले गरेका थिए ।