२ मंसिर २०८३, बुधबार

जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्यानबेरा । जलवायु परिवर्तनका कारण उत्पन्न चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित हुने देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया २६ स्थान माथि उक्लिएको छ । सन् २०२४ मा ५५ औं स्थानमा रहेको अस्ट्रेलिया पछिल्लो प्रतिवेदनमा शीर्ष ३० प्रभावित देशभित्र परेको छ ।

खडेरी र अतिवृष्टि दुवैको सामना गर्दै आएको देशका रूपमा चिनिने अस्ट्रेलियामा पछिल्ला वर्षहरूमा जलवायुजन्य विपद्को जोखिम बढ्दै गएको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

जर्मनीस्थित वातावरणीय संस्था जर्मनवाचले मंगलबार सार्वजनिक गरेको क्लाइमेट रिस्क इन्डेक्स प्रतिवेदनअनुसार विश्वभर गर्मीको लहर (हिटवेभ) चरम मौसमी घटनाबाट हुने मृत्युको सबैभन्दा ठूलो कारण बनेको छ । तर आर्थिक क्षतिको हिसाबले भने आँधीबेहरी सबैभन्दा प्रभावकारी विपद्का रूपमा देखिएको छ ।

यो प्रतिवेदन सार्वजनिक हुनुभन्दा केही दिनअघि अस्ट्रेलियाको मौसम विभागले देशमा ‘बलियोदेखि अत्यन्त बलियो एल निनो’ अवस्था विकसित भइरहेको चेतावनी दिएको थियो । यसले अस्ट्रेलियामा तापक्रम बढ्ने, मौसम थप सुक्खा हुने र डढेलोको जोखिम बढ्ने सम्भावना रहेको विभागले जनाएको छ ।

अन्तर्राष्ट्रिय विपद् तथ्यांक प्रणाली, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त तथ्यांकका आधारमा तयार गरिएको प्रतिवेदनले सन् २०२५ मा विश्वभर ३६७ वटा चरम मौसमी घटना भएको उल्लेख गरेको छ ।

ती घटनाका कारण करिब ३५ हजार मानिसको मृत्यु भएको, १० करोडभन्दा बढी मानिस प्रभावित भएको र प्रत्यक्ष आर्थिक क्षति १५८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको प्रतिवेदनमा उल्लेख छ । यो रकम अस्ट्रेलियन डलरमा करिब २३५ अर्ब बराबर हुन्छ ।

प्रतिवेदनअनुसार सन् २०२५ मा गर्मीको लहरका कारण मात्रै २४ हजार ४०७ जनाको मृत्यु भएको थियो। यो वर्षभरि चरम मौसमी घटनाबाट भएको कुल मृत्युको झन्डै ७० प्रतिशत हो । सन् १९९६ यताका तथ्यांकमा गर्मीका कारण हुने मृत्युको हिस्सा करिब ४० प्रतिशत रहेको थियो ।

प्रतिवेदनकी सहलेखक लिसा शुल्थाइसका अनुसार गर्मीका कारण हुने वास्तविक मृत्युको संख्या सार्वजनिक तथ्यांकमा उल्लेख भएभन्दा अझ बढी हुन सक्छ । विशेषगरी विकासोन्मुख देशहरूमा गर्मीका कारण भएका सबै मृत्यु अभिलेखमा नसमेटिएको र युरोपमा हालैका वर्षहरूमा देखिएका अत्यधिक गर्मीका प्रभावले वास्तविक संख्या अझ उच्च हुन सक्ने उनको भनाइ छ ।

जलवायु परिवर्तनको प्रभाव अब केवल वातावरणीय विषयमा सीमित नरही जनस्वास्थ्य, जनजीवन, अर्थतन्त्र र विपद् व्यवस्थापनसँग प्रत्यक्ष जोडिएको यस प्रतिवेदनले देखाएको छ ।