कालिकोट । जिल्ला कारागार कालिकोटमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । कारागारमा १५ जना कैदीबन्दी राख्ने क्षमता भए पनि हाल जिल्ला कारागारमा ४८ जना कैदी बन्दी रहेका छन् ।
कालिकोट छुट्टै जिल्ला बनेको पाँच वर्षपछि २०३७ सालमा स्थापना भएको कारागार निकै पुरानो र जीर्ण भएका कारणले अहिले समस्या भएको जिल्ला कारागार कालिकोटका निमित्त प्रमुख जेलर कर्णप्रसाद पण्डितले बताए । उनले जीर्ण भवनमा क्षमताभन्दा तेब्बर कैदी बन्दी राखिँदा समस्या भएको जानकारी दिए ।
कारागार निकै पुरानो भएको अहिलेको अवस्थामा कैदी बन्दीको संख्या पनि धेरै रहेको निमित्त प्रमुख जेलर पण्डितले बताए ।
‘यहाँको भौतिक संरचना अत्यन्तै जीर्ण छ । जीर्ण भवनमा यति धेरै कैदी बस्नुपर्दा जीवनको जोखिम पनि उत्तिकै छ,’ उनले भने, ‘कतिका मुद्दा चलिरहेका छन् केही अझै थपिन्छन् होला तर यो भवनमा कैदीलाई बास बसाउने ठाउँ समेत समस्या रहेको छ ।’
सीमित पूर्वाधार, साँघुरा कोठा र कैदीको बढ्दो चापका कारण जिल्ला कारागार कालिकोट व्यवस्थापनमा चुनौती थपिएको पण्डितले बताए ।
उनले २०३७ सालमा स्थापना भएको कारागार २०६५ सालमा सामान्य मर्मत गरिए पनि अहिले जीर्ण बन्दै गएकोले जोखिम बढेको बताए ।
कारागारभित्र कैदी राख्ने क्षमता सीमित भए पनि कैदी बन्दीको संख्या बढ्दै जाँदा उपलब्ध संरचनाले धान्न नसक्ने अवस्था सिर्जना भएको र लामो समय भइसक्दा पनि गोलघेराको पर्खालसमेत मर्मत नभएको कारागार व्यवस्थापनले जनाएको छ ।
पुरानो तथा जीर्ण भवनमा क्षमताभन्दा तेब्बर कैदी बन्दी राख्नुपर्दा उनीहरूको बसोबास, स्वास्थ्य, सरसफाइ र दैनिक जीवनयापनमा समेत समस्या उत्पन्न हुने जोखिम बढेको निमित्त प्रमुख पण्डितले बताए ।
कारागारमा १५ जना पुरुष कैदी बन्दी राख्ने क्षमता भएको भवनमा हाल ४४ जना कैदी बन्दी रहेको पण्डितले बताए । उनका अनुसार ४४ जना पुरुष रहेका छन् ।
१० जना महिला कैदी बन्दी राख्ने क्षमता भएको कारागारमा हाल चार जना महिला रहेका छन् । कारागारमा हाल जम्मा ४८ जना कैदी रहेको कारागार व्यवस्थापनले जनाएको छ ।












प्रतिक्रिया