२ मंसिर २०८३, बुधबार

वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–राजेन्द्र विश्वकर्मा

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका छन् ।

वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँ सभा सञ्चालन तथा नीति तथा कार्यक्रम पारित गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी वेदप्रसाद गौतमका अनुसार मंगलबार बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट ५५ वर्षीय अध्यक्ष रायलाई पक्राउ गरिएको हो ।

मिति २०८० साल असार १० गते आयोजित गाउँसभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो ।

उजुरीमा गाउँसभामा सहभागी नभएकी वडा सदस्यको हस्ताक्षर नक्कली रूपमा प्रयोग गरी गाउँ सभा सम्पन्न भएको देखाइएको तथा सोही आधारमा नीति तथा कार्यक्रम पारित गरिएको उल्लेख गरिएको थियो ।

उजुरीपछि प्रहरीले सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी घटनाको अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा सर्लाही जिल्ला अदालतबाट असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले अध्यक्ष रायलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका अध्यक्ष रायमाथि सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको डीएसपी गौतमले जानकारी दिए ।