३० कार्तिक २०८३, सोमबार

बमको तेस्रो धम्कीकाबीच फ्यानसँग भेट्न बाहिर निस्किए अमिताभ बच्चन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । मुम्बईस्थित आफ्नो निवास ‘जलसा’लाई बमले उडाइदिने धम्की तेस्रोपटक प्राप्त भए पनि अमिताभ बच्चन आइतबार आफ्ना प्रशंसकहरूसँग भेट्न बाहिर निस्किएका छन् ।

बिहीबार बिहान उनको बंगलामा एक धम्कीपूर्ण इमेल आयो, जसमा घरलाई बमले उडाइदिने चेतावनी दिइएको थियो । यसका साथै, दिल्ली प्रहरीले दुई जना ‘शार्पशूटर’ लाई पक्राउ गरेको छ, जसले उनको घरबाहिर गोली चलाउने योजना बनाइरहेका थिए ।

यी तमाम धम्कीहरूका बीच, कडा सुरक्षा व्यवस्थाका साथ अमिताभ ‘जलसा’को मुख्य ढोकासम्म आए र त्यहाँ भेला भएका ठूलो संख्याका प्रशंसकहरूलाई अभिवादन गरे ।

कडा सुरक्षा व्यवस्थाका बीचमा आइतबार दर्शनको क्रममा अमिताभ सधैजस्तै शान्त देखिए । उनले सेतो कुर्ता लगाएका थिए जसमा सुन्तला, नीलो र सेतो प्रिन्ट भएको ज्याकेट थियो, साथै मिल्दो टोपी पनि लगाएका थिए ।

स्टेजमा आएपछि उनले पहिले हात जोडे, फ्यानहरूलाई अभिवादन गरे र ताली बजाए । त्यसपछि उनले दुवै हात हल्लाए, भीडमा रहेका फ्यानहरू र टाढा उभिएकाहरूसँग अन्तर्क्रिया गरे । जलसा बाहिर ठूलो संख्यामा फ्यानहरूले आफ्नो मोबाइल फोनमा उनको फोटो खिच्दै र भिडियो रेकर्ड गर्दै गरेको देखिन्थ्यो ।

मुम्बई प्रहरीका अनुसार गत बिहीबार बिहान अमिताभ बच्चनको बंगला ‘जलसा’लाई बमले उडाइदिने धम्कीपूर्ण इमेल प्राप्त भएको छ । उक्त इमेलमा २७ नोभेम्बर र ३१ डिसेम्बर लगायतका विभिन्न मितिहरू उल्लेख गरिएका छन् । एक महिनाभित्र बच्चनको निवासलाई लक्षित गरी धम्की दिइएको यो तेस्रो घटना हो ।

यसअघि ६ नोभेम्बरमा पनि ‘जलसा’ लाई बमले उडाइदिने धम्कीपूर्ण इमेल प्राप्त भएको थियो ।

त्यस्तै, २३ अक्टोबरमा मुम्बईकी मेयर ऋतु तावडेलाई पठाइएको इमेलमा पनि बच्चनको बंगलालाई बमले उडाइदिने कुरा उल्लेख गरिएको थियो ।

बम राखेको धम्कीका साथै, अमिताभ बच्चनको घरमा गोली चलाउने योजनाको पनि खुलासा भएको छ । दिल्ली प्रहरीले यस घटनामा संलग्न दुई जना ‘शार्प शूटर’लाई पक्राउ गरेको छ, जसको पहिचान जालन्धरका विकास ठाकुर र तरन तरनका दीपक सिंहका रूपमा भएको छ ।

प्रहरी स्रोतका अनुसार, पक्राउ परेका दुवै व्यक्ति विदेशमा बस्ने एक ग्याङस्टरका लागि काम गर्छन् । सन् १९८४ को सिख विरोधी दंगाका सन्दर्भमा अमिताभले दिएको भनिएको एक अभिव्यक्तिलाई लिएर ती ग्याङस्टरले उनलाई निशाना बनाउन चाहेका थिए, यद्यपि अमिताभले त्यस्तो कुनै अभिव्यक्ति दिएको कुरा अस्वीकार गरेका छन् ।