२९ कार्तिक २०८३, आइतबार

रास्वपाभित्रै विदेश भ्रमणको विषयलाई लिएर असन्तुष्टि, सांसदहरूले उठाए खर्च र औचित्यमाथि प्रश्न

जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरून्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेश भ्रमणमा पार्टीका नेता तथा सांसदहरूको बढ्दो सक्रियतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि देखिन थालेको छ। सरकारी खर्चमा हुने भ्रमणको औचित्य, त्यसबाट प्राप्त हुने उपलब्धि र राजनीतिक नैतिकतामाथि पार्टीकै सांसदहरूले सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।

सांसदहरू गणेश कार्की, ज्वाला संग्रौला, आशिका तामाङ र राजु पाण्डेले सामाजिक सञ्जालमार्फत विदेश भ्रमणको प्रवृत्तिप्रति असन्तुष्टि जनाएका हुन्।

सांसद गणेश कार्कीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–३१ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको टर्की जाने क्रम बढेको विषयलाई उठाएका छन्। उनले सम्मेलनमा सहभागी हुन जानेहरूको भ्रमण खर्च कसले व्यहोर्ने हो भन्ने विषय स्पष्ट पार्नुपर्ने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘सधैँ झैँ यसपालि पनि कोपमा जानेहरूको लर्को छ । वातावरणको विद्यार्थी र सांसद पनि भएकाले हो कि धेरै साथीहरू कोपका लागि टर्किए पुगेको, पुग्दै गरेको देख्छु।’

कार्कीले सरकारी खर्चमा भ्रमण गर्ने वा निजी तथा अन्य स्रोतबाट जाने भन्नेबारे सहभागीहरूले सार्वजनिक जानकारी दिनुपर्ने माग गरेका छन्।

‘जानेहरूले आफू सरकारी खर्चमा गएका हुन् कि होइनन् भन्ने सार्वजनिक रूपमा घोषणा गरून् । गर्नै पर्छ,’ उनले लेखेका छन्।

सांसद ज्वाला संग्रौलाले पनि ठूलो संख्यामा विदेश भ्रमण गर्ने प्रवृत्तिमाथि प्रश्न उठाएकी छन्। विगतमा अन्य दलका नेताहरूले यस्तै अभ्यास गर्दा आलोचना गर्नेहरू अहिले आफैँ त्यही बाटोमा हिँड्न नमिल्ने उनको टिप्पणी छ।

संग्रौलाले लेखेकी छन्, ‘हुल बाँधेर विदेश भ्रमण गर्नु देश र जनहितविपरीत छ साथीहरू । हिजो अरूले त्यही गर्दा गलत हुने, आज हामीले गर्दा सही हुने भन्ने कहाँ लेखेको छ ?’

सम्बन्धित देशले आफ्नै खर्चमा सांसद वा विज्ञलाई निमन्त्रणा गरेको अवस्थामा भ्रमणलाई स्वाभाविक मान्न सकिने भए पनि राज्यकोषबाट रकम खर्च गरेर गरिने भ्रमण उचित नहुने उनको भनाइ छ।

‘सम्बन्धित मुलुकले खर्च बेहोरेर यति सांसद पठाइदिनु, त्यो पनि विज्ञ पठाइदिनु भनेर निमन्त्रणा गरेको हो भने ठीक छ । तर राज्यको धनराशि खर्च गरेर हामी उडेका हौँ भने यो तरिका हिजो पनि बेठीक हो र आज पनि,’ उनले लेखेकी छन्।

आफू भ्रमणमा जान नपाएको कारण यस्तो टिप्पणी नगरेको स्पष्ट पार्दै उनले जनतामाझ पुगेर काम गर्नु नै बढी जिम्मेवारीपूर्ण हुने धारणा राखेकी छन्।

सांसद आशिका तामाङले पनि सरकारी खर्चमा हुने विदेश भ्रमणको सीमा र त्यसबाट प्राप्त उपलब्धिबारे प्रश्न गरेकी छन्। संसदीय समितिको नाममा हुने भ्रमणको उद्देश्य र परिणामबारे सम्बन्धित सांसदहरू नै स्पष्ट नहुने अवस्था रहेको उनको गुनासो छ।

राज्यको लाखौँ रुपैयाँ खर्च गरेर गरिने भ्रमणको प्रतिफल जनताले थाहा पाउनुपर्नेमा उनले जोड दिएकी छन्। भ्रमण उपलब्धिमूलक हुनुपर्नेमा त्यसको गतिविधि समुद्री किनारमा तस्बिर खिच्ने र टिकटक बनाउनेमै सीमित भएको हो कि भन्ने आशय उनले व्यक्त गरेकी छन्।

प्रधानमन्त्री बालेन्द्र शाहनिकट मानिने सांसद राजु पाण्डेले पनि पद र जिम्मेवारीमा पुगेपछि विदेश भ्रमणलाई प्राथमिकता दिने राजनीतिक संस्कारमाथि व्यंग्य गरेका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘जिम्मेवारीरकुर्सीमा पुगेपछि प्राथमिकता त विदेश जाने नै हुँदो रहेछ‘ अचम्म ! लाज पनि लजायो कि ! कुरीकुरी । जय मातृभूमि नेपाल।’

रास्वपाका २० जना नेता तथा सांसदको टोली चीन भ्रमणमा गएको छ। अर्कोतर्फ कोप–३१ मा सहभागी हुन नेपालका पाँच मन्त्री टर्की पुगेका छन्।