२७ कार्तिक २०८३, शुक्रबार

सुनिल थापाको अन्तिम चलचित्र ‘हिमालयन गोल्ड’को दोस्रो ट्रेलर सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘हिमालयन गोल्ड’को दोस्रो ट्रेलर सार्वजनिक भएको छ ।

निर्देशक धीराज राजवंशीको डेब्यू निर्देशनमा निर्माण भएको चलचित्रको टिमले शुक्रबार करिब दुई मिनेटको दोस्रो ट्रेलर सार्वजनिक गरेको हो ।

आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने चलचित्रको ट्रेलरले हिमाली भेगमा यार्सागुम्बा संकलनका क्रममा हुने संघर्ष, लुटपाट, विश्वासघात र बदलाको कथा प्रस्तुत गरेको छ ।

सार्वजनिक ट्रेलरमा हिमाली क्षेत्रको सुन्दरता र त्यहाँको कठिन जीवनशैलीसँगै यार्सागुम्बा संकलनका लागि पुग्ने सर्वसाधारणले भोग्नुपर्ने जोखिमलाई देखाइएको छ । बहुमूल्य जडीबुटी यार्सागुम्बालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रमा लोभ र पैसाका लागि मानिस कुन हदसम्म पुग्न सक्छ भन्ने विषयलाई पनि उठाइएको छ ।

रिलिजमा एक हप्ता मात्र बाँकी हुँदा दोस्रो ट्रेलर ल्याएर टोलीले दर्शकको उत्सुकता बढाउन खोजेको छ । जसमा लुटेराको समूहसँग भेट भएपछि उनले आफूलाई कसरी जोगाउलिन् भन्ने कथा ट्रेलरले देखाएको छ । नेपालको इतिहास, संस्कृति र मौलिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यसहित निर्माण गरिएको यस चलचित्रले सर्भाइभल कथामार्फत दर्शकलाई फरक स्वाद दिने अपेक्षा निर्माण टिमले गरेको छ ।

यो चलचित्रको सबैभन्दा भावनात्मक पक्ष यो नेपाली सिनेमाका वरिष्ठ अभिनेता सुनिल थापाको अन्तिम चलचित्र हुनु हो । ट्रेलरमा उनलाई फरक र नकारात्मक भूमिकामा देखाइएको छ ।

त्यस्तै, चलचित्रमा कर्मा शाक्य लगायतका कलाकार पनि फरक चरित्रमा प्रस्तुत भएका छन् । मेनुका प्रधान, राहुल एन. मुखिया, अङ्कित खड्का, सुनिल तामाङ, तेन्जिङ ठकुरी, सविता अधिकारी र ऋषिकेश बस्यालको पनि अभिनय रहेको छ ।

निर्देशक राजवंशीका अनुसार थापाको अन्तिम अभिनयलाई नेपाल र भारतका दर्शकसम्म पुर्‍याउनु उनको योगदानप्रति उचित श्रद्धाञ्जली हुनेछ ।

चलचित्रमा सुनिल, कर्मा र परीक्षाका साथै राहुल एन. मुखिया, सजन थापा र मेनुका प्रधानको मुख्य अभिनय रहेको छ । अंकित खड्का, सुनिल तामाङ, सेवित्ता अधिकारी, ऋषिकेश बस्याल, तेन्जिङ ठकुरी र छेरिङ गोन्पोको पनि अभिनय छ ।

हिमाली क्षेत्रको पृष्ठभूमिमा निर्माण गरिएको यो सर्भाइभल थ्रिलर फिल्मले अस्तित्वको संघर्ष, लोभ र विश्वासघातलाई चलचित्रको मुख्य कथावस्तु बनाइएको छ ।