काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको भीषण सवारी दुर्घटनाका मृतकका परिवार र घाइतेलाई राहत उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको छ। उपचार खर्च, क्षतिपूर्ति तथा बिमा रकम छिटो उपलब्ध गराउन सम्बन्धित पक्षसँग समन्वय भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
शुक्रबार सार्वजनिक जानकारीअनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र प्रचलित बिमा कानुनबमोजिम पीडितले पाउनुपर्ने रकम उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी तथा बिमा कम्पनीसँग आवश्यक प्रक्रिया अघि बढाइएको हो।
दुर्घटनामा घाइते भएकाहरूको उपचारलाई पनि सरकारले प्राथमिकतामा राखेको छ। उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिइसकिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार घाइतेमध्ये तीन जना उपचारपछि अस्पतालबाट घर फर्किएका छन्। अन्य तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच दुर्घटनाको कारण पत्ता लगाउन र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुझावसहितको प्रतिवेदन तयार पार्न पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री कार्यालयले दुर्घटनाबाट प्रभावित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस बिहीबार बिहान भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डको चिसापानीगढीमा दुर्घटनामा परेको थियो। भीमफेदी गाउँपालिका–६ मा पर्ने उक्त स्थानमा अनियन्त्रित भएको माइक्रोबस सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो।
दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए। छठ पर्व मनाउन घर फर्किरहेका यात्रुमध्ये मृत्यु हुने १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका थिए। ज्यान गुमाउने चालक भने सर्लाहीकै कविलासी नगरपालिकाका बासिन्दा रहेको विवरणमा उल्लेख छ।












प्रतिक्रिया