२६ कार्तिक २०८३, बिहिबार

सोनियाँ गान्धीको पुस्तकले भारतमा तहल्का, मोदीसँगको सम्बन्धदेखि १९८४ को दंगासम्मका प्रसङ्ग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेतृ सोनियाँ गान्धीको नयाँ आत्मकथा ‘Belonging: A Journey of Love’ सार्वजनिक भएसँगै भारतको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। व्यक्तिगत जीवनका उतारचढावदेखि भारतका विवादास्पद राजनीतिक घटनाक्रम र प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्बन्धसम्मका विषय समेटिएको पुस्तकले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र विपक्षी कांग्रेसबीच आरोप–प्रत्यारोप चर्काएको छ।

५४४ पृष्ठको यो पुस्तक नोभेम्बर १० मा सार्वजनिक भएको हो। पुस्तकमा ७९ वर्षीया सोनियाँले इटालीको सामान्य परिवारमा बिताएको बाल्यकालदेखि भारतको शक्तिशाली नेहरू–गान्धी परिवारको सदस्य हुँदै राष्ट्रिय राजनीतिमा स्थापित हुँदासम्मको यात्रा वर्णन गरेकी छन्। सन् १९६५ मा बेलायतको क्याम्ब्रिजमा अध्ययनरत रहँदा राजीव गान्धीसँग भेट भएको र प्रेम सम्बन्ध विवाहमा परिणत भएपछि सन् १९६८ मा भारत आएको प्रसङ्ग पनि पुस्तकमा छ।

इन्दिरा गान्धीको संकटकाललाई गल्तीको संज्ञा

पुस्तकको सबैभन्दा चर्चित राजनीतिक प्रसङ्गमध्ये सन् १९७५ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले घोषणा गरेको संकटकाल (इमर्जेन्सी) पनि एक हो। सोनियाँले त्यस निर्णयलाई गल्तीका रूपमा व्याख्या गरेकी छन्। उनका अनुसार इन्दिरा आफैँ पनि पछि उक्त निर्णयप्रति सहज थिइनन्।

संकटकाल घोषणा गर्नुअघि इन्दिरा राजनीतिक दबाब र एक्लोपनमा परेको तथा परिवारभित्रै यस विषयमा मतभेद रहेको सोनियाँको वर्णन छ। उनका अनुसार राजीवले निर्वाचनसम्म पर्खन सुझाव दिएका थिए भने सञ्जय गान्धीले विपक्षीलाई रोक्नुपर्ने धारणा राखेका थिए। सञ्जयलाई नियन्त्रणमा राख्न सके संकटकालपछि भएका धेरै क्षति रोक्न सकिने उनको बुझाइ छ।

१९८४ को सिखविरोधी हिंसा र राजीवको बचाउ

सन् १९८४ मा इन्दिरा गान्धीको हत्या भएपछि भारतमा भड्किएको सिखविरोधी हिंसाबारे पनि पुस्तकमा चर्चा गरिएको छ। उक्त घटनालाई सोनियाँले भारतको इतिहासको ‘दुःखद र लज्जास्पद अध्याय’ भनेकी छन्।

हिंसाका क्रममा हजारौँ मानिसको ज्यान गएको घटनामा सरकारी संयन्त्रको कमजोरी र न्याय प्रक्रियामा भएको ढिलाइप्रति उनले प्रश्न उठाएकी छन्। तर, तत्कालीन प्रधानमन्त्री बनेका आफ्ना पति राजीव गान्धीमाथि लागेको संलग्नताको आरोपको भने उनले प्रतिवाद गरेकी छन्। हिंसा रोक्न प्रभावकारी शासन सञ्चालन हुन नसकेको र जिम्मेवार अधिकारीहरूले समयमै कदम नचालेको उनको भनाइ छ।

यही प्रसङ्गलाई लिएर भाजपाले सोनियाँमाथि गान्धी परिवार र कांग्रेसको विगतका गल्तीलाई ढाकछोप गर्न खोजेको आरोप लगाएको छ। भाजपाका प्रवक्ता सीआर केसवनले पुस्तकको नाम ‘Belonging’ नभई ‘Whitewashing’ राख्नुपर्ने टिप्पणी गरेका छन्। सन् १९८४ को हिंसामा राजीवको भूमिकाबारे सोनियाँले दिएको व्याख्याले पीडितलाई न्याय दिलाउने प्रयास कमजोर पार्ने भाजपा नेताहरूको आरोप छ।

बाबरी मस्जिददेखि मोदीसँगको सम्बन्धसम्म

सन् १९९२ मा अयोध्यास्थित बाबरी मस्जिद भत्काइएको घटनालाई पनि सोनियाँले भारतीय राजनीतिमा निर्णायक मोडका रूपमा चित्रण गरेकी छन्। उक्त घटनापछि देशमा साम्प्रदायिक ध्रुवीकरण बढेको र धर्मनिरपेक्ष राजनीतिक मान्यतामाथि चुनौती थपिएको उनको विश्लेषण छ।

प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्बन्धबारे पनि उनले पुस्तकमा उल्लेख गरेकी छन्। मोदी सत्तामा आएको १२ वर्षमा आफूहरूबीच खासै अर्थपूर्ण संवाद नभएको उनको दाबी छ। सार्वजनिक कार्यक्रममा आमनेसामने हुँदा मोदीले आँखा जुधाउन नखोज्ने गरेको अनुभवसमेत उनले लेखेकी छन्। भारतको लोकतान्त्रिक अभ्यास र राजनीतिक विपक्षीप्रति सत्तापक्षको व्यवहार कमजोर हुँदै गएको उनको निष्कर्ष छ।

प्रधानमन्त्री बन्न अस्वीकार गरेको प्रसङ्ग र व्यक्तिगत पीडा

सन् २००४ को आमनिर्वाचनपछि कांग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाउने अवस्था आए पनि आफूले प्रधानमन्त्री पद अस्वीकार गर्नुको कारणसमेत सोनियाँले खुलाएकी छन्। तत्कालीन अवस्थामा मनमोहन सिंहलाई सरकारको नेतृत्वका लागि उपयुक्त व्यक्ति ठानेको उनको भनाइ छ। सिंहको इमानदारी, प्रशासनिक अनुभव र पार्टीभित्र कुनै एउटा गुटसँग मात्र निकट नरहेको पक्षलाई उनले निर्णयको आधार बनाएकी छन्।

पुस्तकमा उनको निजी जीवनका पीडादायी घटना पनि समेटिएका छन्। विवाहपछि पहिलो सन्तान जन्मिएको केही समयमै गुमाउनुपरेको दुःख, सन् १९८४ मा इन्दिरा गान्धीको हत्या र सन् १९९१ मा राजीव गान्धीको हत्याले परिवारमा पारेको प्रभाव उनले वर्णन गरेकी छन्। अपरेशन ब्लु स्टारपछि घरको एउटा कोठामा ग्रिनेड भेटिएको घटनाले आफूहरूमा सुरक्षा त्रास बढाएको प्रसङ्ग पनि पुस्तकमा छ। त्यस्तै, सन् २०१० मा स्तन क्यान्सर र त्यसको केही समयपछि देखिएको स्वास्थ्य समस्याको उपचारबारे पनि उनले खुलाएकी छन्।

प्रकाशनअघि नै विवाद, सार्वजनिक भएपछि थप चर्कियो बहस

पुस्तक सार्वजनिक हुनुअघि नै यसको प्रकाशनलाई लिएर विवाद भएको थियो। सुरुमा भारतीय प्रकाशक पेन्गुइन र्‍यान्डम हाउसले पुस्तक प्रकाशन गर्ने तयारी गरेको थियो। तर, पाण्डुलिपिका केही अंशमा सम्पादन र हटाउनुपर्ने विषयमा लेखक पक्षसँग सहमति नजुटेपछि सम्झौता अघि बढ्न सकेन। त्यसपछि हार्परकलिन्सले भारतमा पुस्तक प्रकाशन गरेको हो।

सरकार, मोदीको कार्यकाल र अन्य संवेदनशील राजनीतिक विषयमा परिवर्तन गर्न खोजिएको भन्दै कांग्रेस पक्षले प्रकाशन प्रक्रियामा सेन्सरसिपको आशंका व्यक्त गरेको थियो। तर पेन्गुइनले भने कुनै बाह्य दबाब नरहेको र सामान्य सम्पादकीय प्रक्रियाकै क्रममा सहमति हुन नसकेको स्पष्टीकरण दिएको थियो।

पुस्तक सार्वजनिक भएपछि भाजपाले संकटकाल र १९८४ को हिंसाबारे गरिएको व्याख्यालाई लिएर आलोचना गरेको छ। कांग्रेस नेताहरूले भने भाजपाले पुराना घटनालाई राजनीतिक स्वार्थका लागि उछालेको आरोप लगाएका छन्। यसरी व्यक्तिगत संस्मरणका रूपमा प्रस्तुत गरिएको पुस्तक भारतको इतिहास, राजनीतिक जवाफदेहिता र वर्तमान सत्तासँगको सम्बन्धबारेको बहसको केन्द्रमा पुगेको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पुस्तक सार्वजनिक भएको भोलिपल्टै भारतको अमेजन बेस्टसेलर सूचीमा शीर्ष स्थानमा पुगेको थियो। १ हजार २९९ भारतीय रुपैयाँ मूल्य राखिएको पुस्तकले पाठकको चासोसँगै राजनीतिक विवाद पनि उत्तिकै आकर्षित गरेको छ।