२६ कार्तिक २०८३, बिहिबार

दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा । दिदीबहिनी नभए पनि भाइटीकाको उल्लास र महत्वलाई आत्मसात् गर्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथ निवासी दुई दाजुभाइले एकअर्कालाई टीका लगाउँदै आएका छन् ।

१२ वर्षीय सम्राट पोखरेल र ८ वर्षीय समृद्ध पोखरेलले यस वर्ष पनि बुधबार भाइटीका लगाएका हुन् । उनीहरूबीच विगत पाँच वर्षदेखि हरेक वर्ष भाइटीका लगाउने परम्परा कायम छ ।

पोखरेलका बुवा सागर पोखरेलका अनुसार दिदीबहिनी नभएकै कारण छोराहरूले भाइटीकाको महत्व र खुसीबाट वञ्चित भएको महसुस नगरून् भन्ने उद्देश्यले यस्तो परम्परा सुरु गरिएको हो ।

‘हाम्रा दुई छोराले विगत पाँच वर्षदेखि आफै एक–अर्कालाई भाइटीका लगाउँदै आएका छन् । दिदीबहिनी नभए पनि भाइले दाइलाई र दाइले भाइलाई टीका लगाउँदा दिदीबहिनी छैनन् भन्ने खिन्नता नहोस् भनेर यस्तो गराएको हुँ’, सागरले भने ।

जेठा छोरा सम्राट र कान्छा छोरा समृद्धले एकअर्कालाई टीका लगाएर भाइटीकाको खुसी साटासाट गर्दै आएका छन् । यसले दिदीबहिनी नभएका परिवारमा पनि आपसी माया, सद्भाव र आत्मीयताका साथ भाइटीका मनाउन सकिन्छ भन्ने सन्देश दिएको पोखरेलको भनाइ छ ।