काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट २०२७ अघि खेलाडी आदानप्रदान (ट्रेड) भएको छ ।
मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या पञ्जाव किंग्समा आबद्ध भएका छन् ।
यस्तै, पञ्जावका स्टार तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा गएका छन् ।
आईपीएलले जारी गरेको विज्ञप्ति अनुसार, हार्दिकको पारिश्रमिक १६.३५ करोड भारतीय रुपैयाँबाट बढेर १८ करोड रुपैयाँ पुगेको छ ।
अर्शदीप भने १८ करोड भारतीय रुपैयाँकै पारिश्रमिकमा मुम्बईमा आबद्ध भएका छन् ।
हार्दिकले सन् २०१५ देखि २०२१ सम्म लगातार ७ सिजन र त्यसपछि सन् २०२४ देखि २०२६ सम्म गरी थप ३ सिजन मुम्बईका लागि खेलेका छन् ।
हार्दिक सन् २०२२ र २०२३ मा गुजरात टाइटन्सको हिस्सा थिए ।
तीन वर्षको अन्तरालमा हार्दिकले ट्रेडमार्फत टोली परिवर्तन गरेको यो दोस्रोपटक हो ।
आईपीएल २०२४ अघि मुम्बईले गुजरातबाट उनलाई पूर्ण रूपमा नगद सम्झौतामार्फत भित्र्याएको थियो । त्यसपछि मुम्बईले उनलाई रोहित शर्माको स्थानमा कप्तान नियुक्त गरेको थियो ।
रोहितको कप्तानीमा मुम्बईले पाँचपटक आईपीएल उपाधि जितेको थियो ।
सन् २०२६ को आईपीएलपछि हार्दिक मुम्बईबाट बाहिरिन सक्ने सम्भावनालाई लिएर अड्कलबाजीहरू तीव्र बनेको थियो ।
हार्दिकलाई अनुबन्ध गर्ने दौडमा चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स पनि सामेल थियो । तर, अन्ततः पञ्जाव किंग्सले उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भयो । यस ट्रेडअन्तर्गत हार्दिक पञ्जाव गए भने अर्शदीप मुम्बईमा आबद्ध भए ।
यसैबीच, पञ्जावले टोलीको कप्तान श्रेयस अय्यर नै रहने सामाजिक सञ्जालमार्फत जनाएको छ ।
यता अर्शदीपले सन् २०१९ मा पञ्जाव किंग्सका लागि आईपीएलमा डेब्यु गरेका थिए । त्यसयता उनी पञ्जावका लागि खेल्दै आएका थिए । अब भने अर्शदीप मुम्बईका लागि खेल्नेछन् ।












प्रतिक्रिया