वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले इरानको आणविक कार्यक्रमसम्बन्धी जानकारी दिने व्यक्तिलाई २ करोड अमेरिकी डलरसम्मको पुरस्कार र अन्यत्र बसाइँ सर्नका लागि सहयोग उपलब्ध गराउने प्रस्ताव गरेको छ । यसमा इरानका आणविक केन्द्रहरू, उपकरणहरू, वैज्ञानिक जनशक्ति तथा आणविक गतिविधिहरूसँग सम्बन्धित सामग्रीहरूको ओसारपसारबारेको जानकारी समावेश छ ।
युनाइटेड स्टेट्स सेन्ट्रल कमान्डले पनि ‘एक्स’मार्फत यस पुरस्कारसम्बन्धी जानकारी साझा गरेकाे छ । यो प्रस्ताव अमेरिकी विदेश मन्त्रालयको ‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमको एक हिस्सा हो, जसले इरानको आणविक पूर्वाधार र त्यससँग जोडिएका व्यक्तिहरूबारे जानकारी खोजिरहेको छ ।
आधिकारिक ‘रिवार्ड्स फर जस्टिस’ वेबसाइटका अनुसार इरानको आणविक कार्यक्रमसम्बन्धी जानकारी उपलब्ध गराउनेलाई यो पुरस्कार प्रदान गरिनेछ । यसमा आणविक संरचनाहरू, उपकरणहरू र सम्बन्धित जनशक्ति विशेष गरी वैज्ञानिक समुदायका व्यक्तिहरू तथा यी स्रोतहरूको ओसारपसारसम्बन्धी विवरणहरू समावेश छन् ।
‘रिवार्ड्स फर जस्टिस’को सूचनामा सन् २०२५ को अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको प्रतिवेदनलाई उद्धृत गरिएको छ । उक्त प्रतिवेदनअनुसार इरानले युरेनियमलाई ६० प्रतिशत शुद्धताको स्तरसम्म संवर्द्धन गरेको छ, जसले यसलाई हतियार निर्माणमा प्रयोग हुने स्तरको युरेनियम (जुन सामान्यतया करिब ९० प्रतिशतसम्म संवर्द्धन गरिन्छ)को निकै नजिक पुर्याएको छ । यसमा उल्लेख गरिएअनुसार इरान यस्तो एकमात्र मुलुक हो, जससँग आणविक हतियार छैन, तर पनि उसले युरेनियमलाई यति उच्च स्तरसम्म संवर्द्धन गरिरहेको छ ।
यसमा अगाडि भनिएको छ कि विज्ञहरूको अनुमानअनुसार यदि हाल मौज्दात रहेको संवर्धित युरेनियमलाई अझ उच्च स्तरसम्म संवर्धित गरियो भने त्यो धेरै आणविक हतियार उत्पादन गर्न पर्याप्त हुन सक्छ । अमेरिकी सूचनामा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी प्रति इरानले आफ्नो सुरक्षसम्बन्धी दायित्वहरूको पालना गर्ने विषयमा पनि चिन्ता व्यक्त गरिएको छ ।
‘रिवार्ड्स फर जस्टिस’ कार्यक्रमका अनुसार इरानले नियमहरूको पालना नगरेका कारण सेन्ट्रिफ्युज लगायतका देशका प्रमुख आणविक सामग्रीहरूको उत्पादन र भण्डारबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग अहिले जानकारीको अभाव छ । सेन्ट्रिफ्युजहरू युरेनियमलाई समृद्ध बनाउन प्रयोग गरिन्छन् र यी इरानको आणविक कार्यक्रमका अति महत्त्वपूर्ण हिस्सा हुन् ।
यो पुरस्कार प्रस्तावले विशेष गरी आणविक सुविधाहरू, उपकरणहरू, जनशक्ति र सम्बन्धित गतिविधिहरूको पहिचान गर्न मद्दत पुर्याउन सक्ने जानकारीको खोजी गर्छ । ‘रिवार्ड्स फर जस्टिस’ले यस्तो जानकारी भएका व्यक्तिहरूले उनीहरूको आधिकारिक रिपोर्टिङ प्रणालीमार्फत जानकारी उपलब्ध गराउन सक्ने बताएको छ । साथै, यो कार्यक्रमले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूलाई अन्यत्र पुनर्स्थापित हुने विकल्प पनि प्रदान गर्दछ ।












प्रतिक्रिया