सल्यान । नयाँ पुस्ताले प्रयोग गर्न छाड्दै गएका र विस्तारै हराउँदै गरेका मौलिक शब्द अब पुस्तकमा सुरक्षित भएका छन् । स्थानीय भाषा, बोलीचाली, उखानटुक्का र अभिव्यक्तिहरूको संरक्षण गर्ने उद्देश्यले लेखक तथा पत्रकार हिरालाल केसीले सल्यान र रुकुमका चार हजार मौलिक शब्दहरु संकलन गरेका हुन् ।
केसीले तयार पारेको पुस्तक ‘बकचालो’ शनिबार सल्यानमा विमोचन गरिएको हो ।
गाउँघरमा दैनिक जीवनमा प्रयोग हुने तर पछिल्लो समय विस्तारै हराउँदै गएका शब्दहरूको खोजी गर्दै केसीले पुस्तक तयार पारेका हुन् । त्यसका लागि उनले गाउँगाउँ पुगेर अग्रज पुस्तासँग संवाद गरेका थिए । तीन महिनाको निरन्तर प्रयासपछि तयार भएको पुस्तकमा सल्यान र रुकुमका विभिन्न क्षेत्रमा प्रचलनमा रहेका चार हजार मौलिक शब्द समेटिएका छन् ।
पुस्तकमा सल्यानका दार्मा र कुमाख गाउँपालिका तथा बागचौर नगरपालिकाका साथै रुकुमका त्रिवेणी गाउँपालिका, चौरजहारी र सानीभेरी नगरपालिकामा प्रचलित शब्दहरू सङ्ग्रह गरिएको छ । स्थानीय जनजीवन, रहनसहन, संस्कृति र परम्परासँग जोडिएका शब्द, उखानटुक्का तथा अभिव्यक्तिलाई समेटेर तयार पारिएको ‘बकचालो’ ले क्षेत्रीय भाषिक पहिचानलाई अभिलेखीकरण गर्ने प्रयास गरेको छ ।
पछिल्लो समय नयाँ पुस्तामा स्थानीय भाषिका र मौलिक शब्दको प्रयोग घट्दै गएको छ । पुस्तान्तरण हुन नसक्दा कतिपय शब्द प्रयोगबाट हराइसकेका छन् भने कतिपय अग्रज पुस्ताको स्मृतिमै सीमित हुन थालेका छन् । यही अवस्थालाई ध्यानमा राखेर आफूले मौलिक शब्दहरूको खोजी र सङ्कलन गरेको लेखक केसीले बताए । उनका अनुसार पुस्तकले स्थानीय भाषाको संरक्षणसँगै पुर्खाको ज्ञान, अनुभव र जीवनशैलीलाई भावी पुस्तासम्म पुर्याउन सहयोग गर्नेछ ।
शनिबार शारदा नगरपालिका–१ श्रीनगरमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य रमेश मल्ल र प्रमुख जिल्ला अधिकारी वन्दना केसी लगायतले पुस्तकको विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा प्रतिनिधि सभा सदस्य मल्लले मौलिक भाषा र शब्दको संरक्षणमा विशेषगरी युवा पुस्ताले चासो दिनुपर्ने बताए । स्थानीय भाषालाई जीवन्त राख्न सके मात्रै भावी पुस्ताले आफ्नो भाषिक पहिचान र पुर्खाले प्रयोग गर्दै आएका शब्दबारे जानकारी पाउने उनको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारी केसीले भाषा पुर्खाको इतिहास र पहिचानसँग जोडिएको उल्लेख गर्दै स्थानीय शब्दहरूको मौलिकता जोगाउनु सबैको साझा दायित्व भएको बताइन् ।
कार्यक्रममा शारदा नगरपालिका–१५ का वडाध्यक्ष लोकमान बुढाथोकी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश संगठन विभाग सहसंयोजक पुष्कर बस्नेत, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजक मान बहादुर मल्ल, बौद्धिक व्यक्तित्व वीरबहादुर सेजवाल, कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष तथा कुमाख मिडिया ग्रुपका अध्यक्ष डिलीराज रावत, नेपाल पत्रकार महासंघका उपाध्यक्ष शिव डाँगी, उद्योग वाणिज्य क्षेत्रका उपाध्यक्ष राजेन्द्र भण्डारी र राप्ती साहित्य परिषद् सल्यानका अध्यक्ष इन्द्र भण्डारी ‘अंकित’ लगायतले पुस्तकको सफलताको शुभकामना दिएका थिए ।
कृतिको समीक्षा तथा विमर्श पूर्ण भण्डारी ‘पंकज’ले गरेका थिए । पुस्तकको प्रकाशन कुमाख मिडिया ग्रुप प्रालिले गरेको हो ।












प्रतिक्रिया