२० कार्तिक २०८३, शुक्रबार

माथिदेखि तलसम्म हामी मातिएका छौँ, मान्छेलाई मान्छे गनेका छैनौँ : रवि लामिछाने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताबाट प्राप्त ठूलो जनमतलाई शक्तिको उन्मादका रूपमा लिन नहुने भन्दै आफ्नै पार्टीका नेता तथा कार्यकर्ताको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।

शुक्रबार गृहजिल्ला चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताको अपेक्षाअनुसार काम गर्न नसके राजनीतिक नेतृत्वको व्यवहार र गतिविधिमाथि प्रश्न उठ्नु स्वाभाविक भएको बताए। उनले प्रधानमन्त्री वालेन्द्र शाहलाई समेत उच्च राजनीतिक चरित्र प्रदर्शन गर्न आग्रह गरे।

पार्टीले प्राप्त गरेको जनमतका कारण नेतृत्वमा अहंकार बढेको टिप्पणी गर्दै लामिछानेले भने, ‘हामी खरो उत्रिएका छौँ ररु जनताले १८२ सिट दिएको छ, हाम्रो भुइँमा खुट्टा छैन, मात्तिएका छौँ, टुप्पिएका छौँ। यसरी हुँदैन, माथिदेखि तलसम्म हामी यति मात्तिएका छौँ, हामी यति चढेका छौँ, हामीले मान्छेलाई मान्छे गनेका छैनौँ।’

जनताले नेतृत्वका गतिविधि र व्यवहारलाई नजिकबाट नियालिरहेको उल्लेख गर्दै उनले आलोचना गर्नेहरूमाथि आक्रामक हुनु राजनीतिक संस्कार नभएको बताए। समाजले देखाएको कमजोरी स्वीकार गरेर सुधार गर्नुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘हाम्रो व्यवहार, हाम्रा गतिविधि, हाम्रा तौरतरिका समाजले विश्लेषण गर्छ। विश्लेषण गर्ने समाजमाथि जाई लाग्नु सही बाटो हुँदैन, समाजले हामीलाई ऐना देखाएको छ। ऐना देखाउनेतिर झम्टिने ! त्यो राजनीतिक चरित्र होइन।’

विगतमा रास्वपामा आबद्ध भएकै कारण आफ्ना नेता तथा कार्यकर्ताले राज्यबाट प्रताडना भोग्नुपरेको स्मरण गराउँदै लामिछानेले अहिले त्यही व्यवहार दोहोर्‍याउन नहुने बताए। विगतको घटनाको बदला लिन प्रशासन र प्रहरी संयन्त्रको दुरुपयोग गर्न नहुने उनको भनाइ थियो।

लामिछानेले जनताले दिएको मतलाई स्थायी शक्ति ठान्न नहुने भन्दै नेतृत्वलाई जनताकै बीचमा रहेर काम गर्न पनि सचेत गराए। उनले भने, ‘हामीले भुइँ टेक्नुपर्छ, भुइँ छोड्नु हुँदैन, कुनै हालतमा तपाईंले भुइँ छोड्नु हुँदैन। हामीले एउटा चुनाव जितेका हौँ। कुनै ग्रहबाट खसेका मान्छे होइनौँ। हामी यहीँका मान्छे हौँ, यही जमिनका मान्छे हौँ। यसलाई हामीले भुल्नुहुँदैन।’