काठमाडौं। आगामी मंसिरमा नेपालमा विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ आयोजना हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटअन्तर्गतको क्वालिफायर प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने निश्चित गरेको छ।
आईसीसीका अनुसार प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उनीहरूबीच हुने प्रतिस्पर्धाबाट आगामी वर्ष आयोजना हुने विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने चार टोलीको टुंगो लाग्नेछ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले डिसेम्बर ४ मा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। सो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। त्यही दिन नामिबिया र युगान्डाबीचको खेल माथिल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ।
नेपाल र इटालीसँगै नामिबिया, युगान्डा, क्यानडा, कुवेत, जर्सी र संयुक्त अरब इमिरेट्स (यूएई) प्रतियोगितामा सहभागी हुनेछन्। यसअघि नै वेस्ट इन्डिज, आयरल्यान्ड, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमानले सन् २०२७ को विश्वकप ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरिसकेका छन्।
वेस्ट इन्डिज र आयरल्यान्डले विश्वकपमा स्वतस् छनोट भएका टोलीबाहेकका उच्च वरीयताप्राप्त टोलीका रूपमा ग्लोबल क्वालिफायरमा स्थान बनाएका हुन्। त्यस्तै, अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान क्रिकेट विश्वकप लिग-२ को शीर्ष चारमा रहँदै छनोट भएका हुन्।
अब नेपालमा हुने प्लेअफबाट छनोट हुने चार टोलीसहित १० टोलीले ग्लोबल क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्।












प्रतिक्रिया