२० कार्तिक २०८३, शुक्रबार

पार्टीका नेता, समर्थकले जे गरे पनि छुट हुन्छ भन्ने हुँदैन : रवि लामिछाने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीमा आबद्ध भएकै आधारमा कसैले पनि गलत कामको उन्मुक्ति नपाउने बताएका छन्। पार्टीका नेता तथा समर्थक सबैले विधि र नियमको पालना गर्नुपर्ने उनको भनाइ छ।

निर्वाचन क्षेत्र भ्रमणका क्रममा इच्छाकामनाका स्थानीय नेता तथा कार्यकर्तासँगको भेटमा लामिछानेले पार्टीलाई बलियो बनाउन तल्लो तहबाटै नेतृत्व विकास गर्नुपर्नेमा जोड दिए। वडा, पालिका, जिल्ला हुँदै प्रदेश र केन्द्रसम्म जिम्मेवारी सम्हाल्न सक्ने नेतृत्व अहिलेबाटै तयार पार्न उनले कार्यकर्तालाई आग्रह गरे।

पार्टीको नाममा हुने गलत गतिविधिलाई संरक्षण गर्न नसकिने स्पष्ट पार्दै उनले भने,‘पार्टीका समर्थकले जे गरे पनि हुन्छ भन्ने होइन। पार्टी विधिमा चल्छ भन्दैमा आफ्ना नेता तथा समर्थकलाई पनि जे गरे पनि छुट हुँदैन। हामी विधिमा विश्वास गर्छौँ। सबै संस्था र राज्यका निकायहरूले विधिको पालना गर्न सकून् र त्यसलाई अझ बढी अभ्यासमा ल्याउन सकून् भनेर हामी काम गरिरहेका छौँ।’

लामिछानेले पार्टी सभापतिको जिम्मेवारीसँगै संगठन विस्तार, सरकारसँग समन्वय र विभिन्न क्षेत्रका गतिविधिलाई अघि बढाउनुपर्ने भएकाले निर्वाचन क्षेत्रमा नियमित पुग्न नसकेको बताए। आफू स्थानीय नेता तथा कार्यकर्ताको सम्पर्कबाट टाढा नरहेको उल्लेख गर्दै उनले पार्टी निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।

उनले भने, ‘म तपाईँहरूको सम्पर्कबाट टाढा छैन। विभिन्न जिम्मेवारी छन्, यत्रो ठूलो पार्टी, यत्रा सांसद, यी सबै र पार्टीको यत्रो ठूलो संरचना चलाउनुपर्नेछ। अस्ति भर्खरै चितवनमा हामीले पहिलो ऐतिहासिक महाधिवेशन यहीँबाट गर्‍यौँ। हामीले पार्टी निर्माण गर्नुपर्नेछ। कहीँ न कहीँ पार्टीले सरकारलाई सकेको समन्वय गर्नुपर्नेछ।’

स्थानीय विकास निर्माणका काममा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीको संस्थागत संरचनालाई सक्रिय बनाउनुपर्ने उनको भनाइ थियो। नागरिकले सामान्यदेखि विकास निर्माणका हरेक कामका लागि सांसद नै खोज्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय तहबाटै सक्षम नेतृत्व स्थापित गर्नुपर्ने बताए।

लामिछानेले पार्टीको जिम्मेवारी केन्द्रमा मात्र सीमित नराखी स्थानीय तहसम्म बाँडफाँट गर्नुपर्ने र सम्भावित नेतृत्वको पहिचान गरी उनीहरूको क्षमता विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।