१९ कार्तिक २०८३, बिहिबार

फेटा अस्पताल उद्घाटन घटनाका घाइतेको उपचार खर्च गाउँपालिकाले बेहोर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । बाराको फेटा गाउँपालिकाले अस्पताल भवन उद्घाटनका क्रममा भएको घटनामा घाइते भएकाहरूको उपचारको सम्पूर्ण खर्च जिम्मा लिने घोषणा गरेको छ ।

गाउँपालिका अध्यक्ष रुस्तम अन्सारीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै घाइतेहरूको उपचारमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

गत कात्तिक १४ गते शनिबार आयोजित अस्पताल भवन उद्घाटन कार्यक्रमका क्रममा भएको घटनामा आदित्य पासवान लगायत केही व्यक्ति घाइते भएका थिए ।

 गाउँपालिकाले घटनामा घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनीहरूका परिवारप्रति सहानुभूति प्रकट गरेको छ ।

अध्यक्ष अन्सारीका अनुसार घाइतेहरूको हालसम्म भएको उपचार खर्च गाउँपालिकाले बेहोर्नेछ । स्वास्थ्य अवस्थाका आधारमा आगामी दिनमा थप उपचार वा विशेष स्वास्थ्य सेवा आवश्यक परे त्यसको व्यवस्थापनका लागि समेत गाउँपालिका सक्रिय रहनेछ । यसका लागि नेपाल सरकार, सम्बन्धित मन्त्रालय तथा सरोकारवाला निकायसँग आवश्यक सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ ।

घटनाको वास्तविक कारण र वस्तुस्थिति सार्वजनिक गर्न छानबिन समिति गठन भइसकेको गाउँपालिकाले जनाएको छ । समितिले निष्पक्ष तथा तथ्यमा आधारित अनुसन्धान गर्ने विश्वास व्यक्त गर्दै घटनाबारे सत्यतथ्य बाहिर ल्याउन गाउँपालिका प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

घटनापछि गाउँपालिकामा देखिएको असहज अवस्थाप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष अन्सारीले राजनीतिक दल, नागरिक समाज, युवा तथा आम नागरिकलाई संयमित रहन आग्रह गरेका छन् । सामाजिक सद्भाव बिगार्ने गतिविधि, अपुष्ट सूचना र उत्तेजना फैलाउने अभिव्यक्तिबाट टाढा रहनसमेत गाउँपालिकाले सबै पक्षलाई सचेत गराएको छ ।

यसैबीच, घटनाका कारण नागरिकले पाउने सार्वजनिक सेवामा कुनै असर पर्न नदिने गाउँपालिकाले स्पष्ट पारेको छ । स्वास्थ्य, शिक्षा तथा प्रशासनिक सेवाहरू नियमित र सहज रूपमा सञ्चालन गर्न जनप्रतिनिधि तथा कर्मचारी प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

गाउँपालिकाले वर्तमान परिस्थितिलाई सामान्य बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्दै आपसी समझदारी, धैर्य र सद्भावका साथ अघि बढ्न आग्रह गरेको छ । साथै, दीपावली तथा छठ पर्वको अवसरमा गाउँपालिकाबासीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना पनि व्यक्त गरेको छ ।