पोखरा । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले महिला राइडरहरूको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ । यही कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइडमा ४० महिला राइडर सहभागी भएका थिए ।
पोखरास्थित क्लासिक ड्राइभबाट सुरु भएको राइडलाई अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले झन्डोत्तोलन गरी बिदाइ गरेका थिए ।
पोखराबाट सुरु भएको यात्रा मुस्ताङसम्म पुगेको थियो । चारदिने यात्रामा सहभागी राइडरहरूले नेपालको हिमाली भूगोल, प्राकृतिक सौन्दर्य र साहसिक मोटरसाइकल यात्राको अनुभव लिएका थिए ।

राइडलाई थप सहज र व्यवस्थित बनाउन रोयल इन्फिल्डको विशेष सर्भिस भ्यान पनि यात्रासँगै परिचालन गरिएको थियो । लामो दूरीको यात्राका क्रममा मोटरसाइकलमा आउन सक्ने प्राविधिक समस्या समाधान तथा आवश्यक सर्भिस सपोर्ट उपलब्ध गराउने उद्देश्यले भ्यानको व्यवस्था गरिएको थियो । यसले सहभागी राइडरहरूलाई यात्राभर आवश्यक प्राविधिक सहयोग र थप सहजता प्रदान गरेको थियो ।
महिला राइडरहरूलाई लामो दूरीको मोटरसाइकल यात्रामा प्रोत्साहन गर्ने, उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्ने तथा राइडिङ समुदायमा महिलाको सहभागिता विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । यसले महिला राइडरहरूबीच आपसी सम्बन्ध, अनुभव आदानप्रदान र सामुदायिक भावनालाई समेत थप बलियो बनाएको छ ।

यस किसिमका राइडले महिला सशक्तीकरणसँगै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ । मुस्ताङजस्ता पर्यटकीय गन्तव्यलाई मोटरसाइकल यात्रामार्फत देश तथा विदेशमा चिनाउन र नेपालको प्राकृतिक तथा सांस्कृतिक विविधतालाई उजागर गर्न यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।
रोयल इन्फिल्डले आफ्नो ‘पियोर मोटरसाइकलिङ’को अवधारणाअनुरूप नेपालमा राइडिङ संस्कृति, समुदाय निर्माण तथा साहसिक यात्रालाई प्रवर्द्धन गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले विभिन्न राइड तथा समुदायकेन्द्रित कार्यक्रममार्फत मोटरसाइकल पारखीहरूलाई जोड्दै आएको छ ।
अल्फा अटोमोटिभले नेपालमा महिला राइडरहरूको सहभागिता बढाउने, सुरक्षित र जिम्मेवार राइडिङ संस्कृतिको विकास गर्ने तथा रोयल इन्फिल्ड समुदायलाई थप सशक्त बनाउने यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।













प्रतिक्रिया