काठमाडौं । वसन्त निरौला निर्देशित चलचित्र ‘पाँच पाण्डव’ पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ। फिल्म रोक्ने चर्चा र विवादबीच बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको छलफलपछि प्रदर्शन नरोकिने सहमति जुटेको हो।
निर्माण कम्पनी कल्याणी फिल्म्सले प्रेस विज्ञप्ति जारी गर्दै चलचित्र कात्तिक २० गतेदेखि देशभरका हलमा प्रदर्शन हुने जनाएको छ। साथै, फिल्मले कुनै धर्म, धार्मिक आस्था वा स्थलको अपमान गर्ने उद्देश्य नराखेको स्पष्ट पारेको छ।
चलचित्रको ‘राजा चाहिया छ’ बोलको गीत सार्वजनिक भएपछि द्रौपदी पात्रको प्रस्तुतिलाई लिएर विवाद भएको थियो। केही समूहले धार्मिक पात्रलाई ग्ल्यामरस शैलीमा प्रस्तुत गरिएको भन्दै विरोध जनाएका थिए। निर्देशक निरौलाले भने गीतमा देखाइएको पात्र महाभारतकी द्रौपदी नभएको स्पष्ट पार्दै आएका छन्।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, महेश त्रिपाठी, आर्यन सिग्देल, विनोद न्यौपाने, सुशील सिटौला र इभा गिरीलगायत कलाकारको अभिनय छ।













प्रतिक्रिया