१९ कार्तिक २०८३, बिहिबार

दुईवटा बसबाट दुई लाख बढीको भन्सार छलीका सामान बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । गौरबाट काठमाडौंका लागि छुटेको यात्रुवाहक बसहरूमा लुकाएर ओसारपसार गरिँदै गरेको भन्सार छलीका सामान रौतहट प्रहरीले बरामद गरेको छ ।

रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालको निर्देशनमा चन्द्रपुर नगरपालिका–९ डुमरियामा बुधबार राति गरिएको चेकजाँचका क्रममा दुईवटा बसबाट सुर्तीदेखि पानको पात, रङ र धार्मिक तस्वीरसम्मका सामान फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय डुमरियाअगाडि राति करिब ९ः३० बजे वरिष्ठ सई निरोज कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले गौरबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसहरू रोकेर जाँच गरेको थियो ।

सोही क्रममा दुवै बसमा बेवारिसे अवस्थामा राखिएका भन्सार छलीका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार बा. प्र. ०३–००१ ख. २५४० नम्बरको नेपाल दर्शन बसबाट १०० केजी सुर्ती र ११० केजी अञ्जिर बरामद भएको छ ।

त्यस्तै, बा. प्र. ०३–००१ ख. २७०५ नम्बरको अनमोल ट्राभल्सबाट २५ केजी पानको पात, २०० केजी विभिन्न रङ, गणेश र सरस्वतीका फ्रेमसहितका ४८ थान साना–ठूला तस्वीर तथा ३०० थान ठूला पोस्टर बरामद गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार बरामद सामानमध्ये केहीको अनुमानित मूल्य २ लाख २२ हजार ६ सय रुपैयाँ रहेको छ । अन्य सामानको मूल्य भने तत्काल यकिन हुन सकेको छैन ।

उल्लेखनीय कुरा के छ भने, सामान बरामद भए पनि दुवै बस भने आफ्ना गन्तव्यतर्फ गइसकेको छ । बरामद सामान प्रहरीले नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ ।

यात्रुवाहक सवारीसाधनलाई समेत प्रयोग गरेर भन्सार छलीका सामान ओसारपसार भइरहेको यो घटनाले सीमा क्षेत्रबाट हुने अवैध कारोबार नियन्त्रणमा प्रहरी निगरानी थप प्रभावकारी बनाउनुपर्ने आवश्यकतालाई उजागर गरेको छ ।