मुम्बई । रणवीर कपुर, यश र साई पल्लवी अभिनित चलचित्र ‘रामायण’ले प्रदर्शन हुनुअघि नै अग्रिम बुकिङमा नयाँ कीर्तिमानहरू कायम गरिरहेको छ ।
आजबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रले आफ्नो नाममा अर्को एउटा रेकर्ड थपेको छ ।
चलचित्रले पाँच दिनको विस्तारित ओपनिङ विकेन्ड (सुरुआती सप्ताहन्त)का लागि अग्रिम बुकिङमार्फत १०० करोड भारुको आँकडा पार गरेको छ । हालसम्म यसका २७ लाख ६९ हजार टिकट बिक्री भइसकेका छन्, जसको मूल्य १०४ करोड ५८ लाख भारु हुन आउँछ ।
प्रदर्शनको पहिलो दिन (बिहीबार)का लागि १० लाख ७५ हजार टिकट बिक्री भएका छन्, जसबाट ४१ करोड २१ लाख भारु संकलन भएको छ ।
शुक्रबार र शनिबारका लागि क्रमशः ५ लाख १ हजार र ५ लाख २० हजार टिकट बिक्री भएका छन्, जसको मूल्य क्रमशः १८ करोड ९३ लाख र २० करोड २९ लाख भारु छ ।
यस्तै, आइतबार र सोमबारका लागि क्रमशः ४ लाख १ हजार र २ लाख ७१ हजार टिकट बिक्री हुँदा १३ करोड ७६ लाख र १० करोड ३९ लाख भारु कमाइ भएको छ ।
अग्रिम बुकिङ संकलनमा ३डी ढाँचा सबैभन्दा अगाडि छ, जसबाट ५८ करोड ५२ लाख भारु संकलन भएको छ । यसपछि २ डी (२८ करोड ११ लाख भारु), आईम्याक्स (१३ करोड ११ लाख भारु), ४ डीएक्स (२ करोड ४७ लाख भारु) र डल्बी सिनेमा (१ करोड २० लाख भारु) रहेका छन् ।
महाराष्ट्र, दिल्ली र कर्नाटक व्यापारमा सबैभन्दा ठूलो योगदान दिने राज्यहरू हुन्, जसमध्ये कर्नाटक यशको गृह राज्य पनि हो ।
कुल व्यापारमा सबैभन्दा ठूलो हिस्सा मूल हिन्दी संस्करणको छ, जसले ८५.३७ करोड रुपैयाँ कमाएको छ । यसपछि तेलुगु (८.५७ करोड रुपैयाँ) र कन्नड (७.८६ करोड रुपैयाँ) भाषामा डब गरिएका संस्करणहरू आउँछन् ।
यो चलचित्रले १०० करोड रुपैयाँभन्दा बढीको ओपनिङ (सुरुआती कमाइ) गर्ने अपेक्षा गरिएको छ । अब यसको लामो ओपनिङ सप्ताहन्तमा कुल कति कमाइ हुन्छ, त्यो हेर्नु रोचक हुनेछ ।
‘दंगल’ र ‘छिछोरे’ जस्ता चलचित्रका लागि परिचित नितेश तिवारीद्वारा निर्देशित ‘रामायण’ दुई भागमा रिलिज हुनेछ । यस चलचित्रमा भगवान् रामको भूमिकामा रणवीर कपुर, माता सीताको भूमिकामा साई पल्लवी, रावणको भूमिकामा यश, लक्ष्मणको भूमिकामा रवि दुबे र भगवान् हनुमानको भूमिकामा सनी देओल रहेका छन् ।












प्रतिक्रिया