अहिले प्रचण्ड र वैद्यका पार्टीबीच कार्यगत एकता वा संयुक्त मोर्चा बनाउने चर्चाले नेपाली राजनीतिको बजार गरम भइरहेकोछ । यही प्रकृयामा माओवादीवाट विद्रोह गरेका मणि थापा र मातृका यादवहरूको समूह र मोहनविक्रमबाट विद्रोह गरेका परि थापाहरूको समूह पनि सामेल हुँदैछन् ।
चुनाव अगाडि वैद्य पक्षले अन्य तीनै समूहसहित ३३ दलीय मोर्चा बनाएर चुनाव बहिष्कार आन्दोलन गरेको थियो भने प्रचण्ड पक्षले मधेशवादी दलहरूसहितसँग चुनावी मोर्चा बनाएर चुनाव लड्न खोजे पनि अन्तमा एक्लै जान बाध्य भएको थियो । त्यो बेला वैद्यलगायतका समूहहरूलाई धेरै संख्या देखाउन ३३ दलीय मोर्चा बनाउनु बाध्यता थियो । त्यसैले केही समयलाई कार्यकर्ताहरूमा केही उर्जा थप्न सहयोग गरेको भए पनि चुनाव रोक्ने सम्मको सक्रिय बहिस्कार अभियान असफल भएकोले चुनावपछि भने कार्यकर्ताहरूमा असन्तोष बढ्न थालेको थियो । स–साना दलहरूसँगको ३३ दलीय मोर्चाको अहिले आएर नामसम्म पनि सुनिन छोडेको छ । धेरै दलहरू आन्दोलनमा हुनु वा नहुनुले सफल वा असफल हुने नभई नीति र कार्ययोजना सही, गलत वा ढुलमुले हुनुले आन्दोलनको परिणाम निर्धारण हुने तथ्य पुन: पुष्टि भएको छ । तर प्रचण्ड तथा वैद्य दुवैलाई भने फेरि एक पटक कार्यकर्ता झुक्याउन धेरै दलहरूको कार्यगत एकता, संयुक्त मोर्चा वा पार्टी एकताकै ढोंगी पाखण्डी नारा दिनुपरेको छ ।
अहिले प्रचण्ड र वैद्य दुवैले केवल कार्यगत एकता वा संयुक्त मोर्चा मात्र बनाउन खोजेका होइनन् । भन्नलाई जे भनेता पनि उनीहरू दुवैले गर्न खोजेको पार्टी एकता नै हो । सिधै पार्टी एकता भन्दा अप्ठेरो भएकोले उनीहरूले कार्यगत एकता वा संयुक्त मोर्चा गर्दै अघि बढ्ने र पछि नीति कार्यदिशा मिल्दै गएपछि पार्टी एकता नै गर्ने भनिरहेका छन् ।
पार्टी एकता प्रचण्डको लागि एक कार्यनैतिक चालबाजी मात्रै हो । चुनावमा भएको शर्मनाक पराजयको दोष आफूमाथि आएकोले त्यसलाई पन्छाउनु, पार्टीमा देखापरेको चरम विघटन रोक्न पार्टी एकताको नारा दिएर कार्यकर्ताहरूलाई केही समय अलमल्याउनु, बाबुराम पक्षले गरेको आक्रमणत्रबाट बच्न वैद्यलाई ढाल बनाउन कोसिस गर्नु र बाबुरामलाई तर्साउन वैद्य पक्षलाई प्रयोग गर्ने प्रयास गर्नु, संविधानसभामा लज्जास्पद अल्पमतमा परेकोले र भित्ते राष्ट्रपति र भित्ते प्रधानमन्त्री बन्न बाध्य भएकोले एमाले र कांग्रेस दुवैको नेतृत्वमा संविधान बन्न नदिने वातावरण बनाई पुन: सत्तामा पुग्ने आन्दोलनको भर्याङ बनाउनु– यी नै हुन् प्रचण्डका तात्कालिक लक्ष्यहरू र यसैका लागि उसले पार्टी एकताका लागि मरिहत्ते गरिरहेका छन् । जति दलाली गरे पनि दक्षिणले आफूलाईभन्दा बाबुरामलाइ र अरुलाई नै पत्याएर आफूलाई अप्ठेरोमा पारेको हुनाले दक्षिणलाई दवाब दिनु पनि उसको यो एकता चालबाजीको अर्को लक्ष्य हो ।
वैद्यको हकमा भने अलि फरक छ । जनयुद्धको जगमा जनविद्रोह गर्ने कार्यदिशा लिएको वैद्य पक्षमा पार्टी फुट हुँदा अनेक स्वार्थ र दृष्टिकोण भएका मानिसहरू लागेका थिए । कोही प्रचण्डले मन्त्री वा सांसद नबनाएकोले पार्टी फुटाउन सहमत भएका थिए र उनीहरू ४० प्रतिशत सांसद आफ्नो पक्षमा भएकोले नयाँ पार्टी दर्ता गराएर नयाँ समीकरण बनाइ त्यस्तै मिले प्रधानमन्त्रीसहित नयाँ सरकार बनाउने लक्ष्य लिएर पार्टी फुटाउन लागिपरेका थिए । तर परिस्थिति अर्कै भयो र उनीहरूको मन्त्री वा सांसद बन्ने सपना पूरा भएन । चुनावमा उनीहरू आउन तयार थिए तर प्रचण्डले उनीहरूलाई चुनावमा आउने वातावरण बनाई दिएनन् र एक्लै लड्ने अहंकार देखाए । (बालुवाटारमा गत हप्ता भएको वार्तामा र पेरिस डाँडामा प्रचण्डले यसबारे आत्मालोचना गरेछन् ।) मन्त्री वा सांसद नबनाएको झोंकमा पार्टी फुटाउन सहमत भएकाहरू अहिले पछुताएका छन् र प्रचण्डसँग पार्टी एकता गर्न मरिहत्ते गर्दैछन् । वैद्य पक्षमा लागेका केही भने अब न जनविद्रोह सम्भव छ, न जनयुद्ध सम्भव छ भन्दै प्रचण्डसँग पार्टी एकता गरेर क्रान्तिकारी पनि बन्दै गर्ने र संसदवादी पनि बन्दै गर्ने नयाँ कार्यनीति बनाउँदै छन् । वैद्य स्वयम्लाई भने पार्टी फुटाएकोमा पश्चाताप हुँदैछ । बाबुरामलाई संसदीय दलको उपनेता बनाइ प्रचण्डपछिको दोस्रो स्थानबाट आफूलाइ हटाएको बदलास्वरुप नै वैद्यलै पार्टी फुटाएका हुन् भन्ने आरोप अहिले पुष्टि हुँदैछ । उनले न जनविद्रोहको योजना बनाएर पार्टीको नेतृत्व हाँके, न जनयुद्धको योजनामा नै पार्टीलाई अगाडि बढाए । अहिले यी दुवै सम्भव नभएको भन्न लागेका छन् । वैद्यकै नेतृत्वमा पार्टी रहेको भए ०५२ सालमा पनि पार्टी जनयुद्धमा जाने थिएन भन्ने यथार्थ प्रचण्डलाई राम्रोसँग थाहा छ । त्यसैंले प्रचण्ड अहिले वैद्यलाई नेतृत्व दिएर भए पनि पार्टी एकता गर्न तयार भएका हुन् ।
यदि इमान्दार रुपले पार्टी एकताको कुरा अघि बढाएका हुन् भने प्रचण्ड वैद्य दुवैले एमालेसँग पार्टी एकताको लागि प्रयास अघि बढाउनु पर्दथ्यो, किनभने प्रचण्डको कार्यदिशा र एमालेको कार्यदिशा एउटै बन्न पुगेको छ र वैद्यले जनविद्रोह र जनयुद्धको लाइन छोडेपछि एमालेसँग एकता गर्नुको विकल्प मोहन विक्रमसँग एकता गर्नु मात्र बाँकी रहन्छ । बाँकी रह्यो विप्लवको धार । यो धार प्रचण्डमा मिसिनेभन्दा पनि बाहिरै रहने सम्भावना बढी छ ।














प्रतिक्रिया