मुगु । नेपालको प्रसिद्ध रारा ताल घुम्न आएका १२ जना आन्तरिक पर्यटकको नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।
छायाँनाथ रारा नगरपालिका–८ स्थित घना चुच्चेमारा जंगलमा बाटो बिराएर अलपत्र परेका पर्यटकहरूलाई सेनाको हनुमानध्वज गुल्मले सुरक्षित उद्धार गरेको हो ।
हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारी बाडाका १२ जना पर्यटकहरू रारा भ्रमणका क्रममा रमाइलो गर्दै अघि बढ्ने क्रममा गन्तव्य विर्सिएर चुच्चेमाराको जंगलमा अलपत्र परेका थिए ।
जंगलमा पर्यटकहरू फसेको र बाटो बिराएको खबर प्राप्त हुनासाथ हनुमानध्वज गुल्मबाट तत्कालै विशेष उद्धार टोली परिचालन गरिएको थियो ।
रातको समय र अप्ठ्यारो भूगोलका बाबजुद पनि सुरक्षाकर्मीहरूको तीव्र खोजी तथा उद्धार प्रयासका कारण राति करिब १० बजे सबै पर्यटकलाई सकुशल फेला पारेको उनले जानकारी दिए ।
उद्धारपश्चात् उनीहरूलाई सल्लेरीस्थित होटलमा राखिएको गुल्मपति श्रेष्ठले जानकारी दिए ।
यस्ता घटनाले रारा क्षेत्रमा आउने पर्यटकहरूको सुरक्षा र व्यवस्थापन पक्षलाई लिएर गम्भीर प्रश्न उब्जाएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार रारा घुम्न आउने पाहुनाहरूका लागि रारा सेरोफेरोमा तथा जुम्लाका विभिन्न भागबाट रारा पुग्ने पदमार्गहरूमा पर्याप्त मात्रामा लोकेसन साइनबोर्ड (संकेत पाटी), सूचना पाटी (इन्फर्मेसन बोर्ड) र तालिमप्राप्त ‘नेचर गाइड’ (प्रकृति पथप्रदर्शक)को व्यवस्थापन नहुँदा यस्ता समस्याहरू बारम्बार दोहोरिने गरेका छन् ।
देश विदेशबाट हजारौँ पर्यटकहरू भ्रमणका लागि रारा आउने गर्दछन् । तर, व्यवस्थित पदमार्ग, दिशा सूचक बोर्ड र सूचना केन्द्रहरूको अभावका कारण पहिलोपटक आउने पाहुनाहरू जंगलमा अलपत्र पर्ने र जोखिम मोल्न बाध्य हुने गरेका छन् ।












प्रतिक्रिया