१७ कार्तिक २०८३, मंगलबार

सहयोग माग्न आएकी महिलालाई थाना परिसरमै प्रहरीले बलात्कार गरेको आरोप, १२ जना निलम्बित

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट । भारतको झारखण्ड राज्यस्थित सरायकेला प्रहरी थाना परिसरमै एक महिलामाथि प्रहरी कर्मचारीले बलात्कार गरेको आरोप लागेको छ ।

घटनापछि कर्तव्यप्रति गम्भीर लापरबाही, अनुशासनहीनता र जिम्मेवारी निर्वाहमा कमजोरी गरेको आरोपमा १२ जना प्रहरी कर्मचारी निलम्बनमा परेका छन् ।

जिल्ला प्रहरी अधीक्षक मनोज स्वर्गियारीले घटनाको पुष्टि गर्दै बीबीसी हिन्दीलाई दिएको जानकारीअनुसार यस प्रकरणमा कुल १५ जना नामजद अभियुक्त रहेका छन् ।

प्रहरी अधीक्षक स्वर्गियारीका अनुसार १२ जना प्रहरी कर्मचारीलाई कर्तव्यप्रति घोर लापरबाही, शिथिलता तथा अनुशासनहीनताको आरोपमा निलम्बन गरिएको हो ।

प्राप्त जानकारीअनुसार ती महिलाको आफ्ना पतिसँग कुनै विषयमा विवाद भएपछि उनी सहयोग माग्दै स्थानीय प्रहरी थानामा पुगेकी थिइन् ।

तर, उनलाई राखिएको कोठामै प्रहरी थानाका वायरलेस अपरेटरले बलात्कार गरेको पीडित महिलाको आरोप छ ।

घटनाको निष्पक्ष अनुसन्धानका लागि विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको प्रहरी अधीक्षक स्वर्गियारीले बताएका छन् ।

उनका अनुसार एसआईटीले घटनाका सबै पक्षमा गहन अनुसन्धान गरिरहेको छ । अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि दोषी देखिने व्यक्तिमाथि थप कानुनी कारबाही गरिनेछ ।

महिलामाथि बलात्कार भएको पुष्टि मेडिकल परीक्षणबाट भएको हो कि होइन भन्ने प्रश्नमा प्रहरी अधीक्षक स्वर्गियारीले मेडिकल परीक्षण भइसके पनि त्यसको प्रतिवेदन प्राप्त हुन बाँकी रहेको बताए ।

उनले मेडिकल रिपोर्टको प्रतीक्षा भइरहेको जानकारी दिए ।

यस घटनाप्रति झारखण्ड विधानसभाका विपक्षी दलका नेता बाबुलाल मराण्डीले पनि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया जनाएका छन् ।

उनले सरायकेलाको प्रहरी थाना परिसरमै एक महिलामाथि प्रहरी कर्मचारीबाट बलात्कार भएको आरोप अत्यन्तै लज्जास्पद र चिन्ताजनक भएको उल्लेख गरेका छन् ।

मराण्डीले ‘जब रक्षक नै भक्षक बन्न थाल्छन् भने महिलाको सुरक्षाको आशा आखिर कसबाट गर्ने ?’ भन्दै प्रहरी प्रशासनमाथि प्रश्न उठाएका छन् ।

घटनाबारे एसआईटीको अनुसन्धान र मेडिकल रिपोर्ट आउन बाँकी रहेकाले आरोपको अन्तिम पुष्टि हुन भने बाँकी छ ।