काठमाडौं । सरकारी सेवामा रहँदा स्रोत नखुलेको सम्पत्ति जोडेको आरोपमा यदुनाथ आचार्यसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आचार्यले २०५४ देखि २०८० सालसम्म विभिन्न सरकारी पदमा रहँदा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अख्तियारको निष्कर्ष छ। आयोगका अनुसार उनको परिवारको वैधानिक आम्दानी करिब ६ करोड २५ लाख रुपैयाँ देखिए पनि सोही अवधिमा १५ करोड ९८ लाख रुपैयाँभन्दा बढी खर्च तथा लगानी भएको पाइएको छ।
आम्दानी र खर्चको हिसाब मिलान गर्दा ९ करोड ७२ लाख ७१ हजार रुपैयाँभन्दा बढीको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको अख्तियारको दाबी छ।
अनुसन्धानमा उक्त सम्पत्ति श्रीमती तथा परिवारका सदस्यको नाममा राखिएको र विभिन्न व्यक्ति तथा कम्पनीमार्फत कारोबार गरिएको देखिएको आयोगले जनाएको छ। आचार्यमाथि सम्पत्ति शुद्धीकरण गरेको आरोपसमेत लगाइएको छ। यससम्बन्धी कसुरमा ९ करोड १९ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ।
मुद्दामा आचार्यकी पत्नी ललिता राजभण्डारी, छोरीहरू निलु र सरु आचार्य तथा प्रभा बस्नेत र कुमारी कटुवाललाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारले गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न, बिगोबराबर जरिवाना र कानुनअनुसार थप सजाय गर्न माग गर्दै आरोपपत्र दायर गरेको जनाएको छ।












प्रतिक्रिया