१६ कार्तिक २०८३, सोमबार

पाँच सातादेखि खत्याड–रारा सडक अवरुद्ध, यातायात ठप्प हुँदा मुगुका स्थानीयलाई सास्ती

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–दानबहादुर बुढा

मुगु । मुगुको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडकखण्ड पाँच सातादेखि अवरुद्ध हुँदा स्थानीयबासी तथा यात्रुले सास्ती खेप्नुपरेको छ । खत्याड गाउँपालिका–८ नुवाखेतमा लगातार सुक्खा पहिरो खस्न थालेपछि उक्त सडक पूर्ण रूपमा बन्द भएको हो ।

सडक अवरुद्ध हुँदा खत्याड गाउँपालिकाका ११ वटै वडाका स्थानीयवासीलाई आवतजावतमा ठूलो समस्या भएको छ । यसका साथै, रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक र जुम्लाको गोठीज्युला जाने यात्रुसमेत प्रभावित भएका छन् ।

सदरमुकाम, गाउँपालिका केन्द्र, इलाका प्रशासन कार्यालय, स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सेवा लिन जाने नागरिकहरू बढी कठिनाइमा परेका छन् । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, बिरामी, विद्यार्थी र अशक्त व्यक्तिहरू यसबाट नराम्ररी प्रभावित भएका छन् ।

पहिले करिब पाँच मिनेटमा पार गरिने दूरीका लागि अहिले आधा घण्टाभन्दा बढी कठिन उकालो चढेर फेरि १५ देखि २० मिनेट ओरालो झर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

पहिरोका कारण सडक मात्र होइन, सिँचाइ कुलो, झोलुङ्गे पुल, खानेपानीका संरचना, गोरेटो बाटो र ठूलो क्षेत्रफलको खेतीयोग्य जमिन नष्ट भएको छ । आसपासका घरबस्तीसमेत जोखिममा परेपछि स्थानीय त्रसित बनेका छन् ।

खत्याड–८ आमगाउँका स्थानीय सम्पत्ति कार्कीका अनुसार पहिरोले तलतर्फका तीन–चार गाउँको सिँचाइ कुलो र जमिनको नामोनिसानै मेटाइदिएको छ ।

‘लगभग पूरै पालिकालाई खाद्यान्न उपलब्ध गराउने आमजिउलाको खेतीयोग्य जमिन अब बाँझो हुने अवस्थामा पुगेको छ,’ उनले दुखेसो पोखे ।

गहुँ छर्ने समय आइसक्दा पनि सिँचाइ कुलो र बाटो नहुँदा किसानहरू चिन्तित छन् ।

मुख्यमन्त्रीको अनुगमन र सरोकारवालाको पहल

गत कात्तिक ९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै तत्काल सडक सञ्चालन तथा दीर्घकालीन समाधानका लागि भूगर्भविद्सहितको प्राविधिक अध्ययन गराउने प्रतिबद्धता जनाएका थिए ।

समस्या समाधानका लागि आइतबार खत्याड गाउँपालिकाका वडा नं. ६, ८ र ११ का वडाध्यक्ष, निमित्त प्रमुख प्रशासकीय अधिकृत, स्थानीय बासिन्दा तथा सरोकारवालाबीच छलफल भएको छ । छलफलले निर्माण समिति गठन गरी तत्काल सडक सञ्चालन र दीर्घकालीन समाधानका लागि पूर्वाधार विकास कार्यालय मुगुसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ ।

पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख सुशील आचार्यले पहिरो प्रभावित क्षेत्रमा प्राविधिक टोली पठाएर पहिरोको प्रकृति हेरी तत्काल सडक खुलाउने र दीर्घकालीन उपाय पहिचान गरिने बताएका छन् ।

खत्याड–रारा–गमगढी सडकखण्डको मुख्य प्रवेश मार्गमै लामो समयदेखि यातायात ठप्प हुँदा स्थानीय जनजीवन, कृषि उत्पादन र पर्यटन क्षेत्रमा गम्भीर असर परेको छ । प्रभावित बासिन्दाले यथाशीघ्र सडक सञ्चालनमा ल्याउन र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन दीर्घकालीन समाधानको जोडदार माग गरेका छन् ।