१६ कार्तिक २०८३, सोमबार

अब ‘मेरोस्ट्रिम’मा नेपाली फिल्म, वृत्तचित्र र वेब सिरिज हेर्न पाइने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नेपाली मनोरञ्जनलाई डिजिटल माध्यमबाट दर्शकसम्म पुर्‍याउने उद्देश्यले स्थापित नयाँ ओटीटी प्लेटफर्म ‘मेरोस्ट्रिम’ आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ । सदस्यता शुल्कमा आधारित यो प्लेटफर्मले दर्शकलाई एउटै सदस्यताबाट चलचित्र, वृत्तचित्र, लघुचलचित्र, शो र वेब सिरिज हेर्न सक्ने सुविधा दिएको छ ।

नेपालमा इन्टरनेट र स्मार्टफोनको पहुँच बढ्दै गए पनि नेपाली सामग्रीका लागि भरपर्दो र व्यवस्थित डिजिटल मञ्चको अभाव कायमै छ । दर्शकले आफ्नै भाषा र संस्कृतिका सामग्री हेर्न चाहँदा कहिले यूट्युबमा छरिएका भिडियो खोज्नुपर्छ, कहिले सिनेमा हलमा सीमित अवधिका लागि मात्र पर्खनुपर्छ । यही अभाव पूरा गर्ने उद्देश्यले मेरोस्ट्रिम सञ्चालनमा आएको हो ।

मेरोस्ट्रिमले दर्शकको आवश्यकता र खर्च गर्न सक्ने क्षमताअनुसार बेसिक, स्ट्यान्डर्ड र प्रिमियम गरी तीन सदस्यता योजना ल्याएको छ ।

बेसिक: एक्लै हेर्नेका लागि बनाइएको यो योजना मासिक २९९ रुपैयाँबाट सुरु हुन्छ । यसमा १०८०पी (फुल एचडी) गुणस्तरमा एकपटकमा एउटा डिभाइसमा हेर्न मिल्छ । तीन महिनाका लागि ८४९ रुपैयाँ, छ महिनाका लागि १,६०९ रुपैयाँ र वार्षिक २,८६९ रुपैयाँ तिर्न सकिन्छ ।

स्ट्यान्डर्ड: दम्पती तथा साना घरपरिवारका लागि भनिएको यो योजना मासिक ३९९ रुपैयाँमा उपलब्ध छ । यसमा १०८०पी (फुल एचडी) गुणस्तरमा एकैसाथ दुईवटा डिभाइसमा हेर्न सकिन्छ । तीन महिनाको १,१२९ रुपैयाँ, छ महिनाको २,१४९ रुपैयाँ र वार्षिक ३,८२९ रुपैयाँ शुल्क तोकिएको छ ।

प्रिमियम: सिङ्गो परिवारका लागि बनाइएको र प्लेटफर्मले “लोकप्रिय” भनेर चिनाएको यो योजना मासिक ५९९ रुपैयाँमा उपलब्ध छ । यसमा चयनित सामग्रीमा फोरके (अल्ट्रा एचडी) गुणस्तरमा हेर्न पाइन्छ र एकैसाथ चार वटासम्म डिभाइसमा चलाउन मिल्छ । तीन महिनाको १,६९९ रुपैयाँ, छ महिनाको ३,२२९ रुपैयाँ र वार्षिक ५,७४९ रुपैयाँ शुल्क छ ।

टिमका अनुसार तीनवटै योजनामा विज्ञापनमुक्त हेर्न पाइन्छ, एउटै खातामा चार वटासम्म प्रोफाइल बनाउन सकिन्छ र क्रोमकास्ट वा एयरप्लेमार्फत टिभीमा हेर्न सकिन्छ । लामो अवधिको योजना रोज्दा मासिकभन्दा सस्तो पर्छ । छ महिनाको योजनामा १० प्रतिशत र वार्षिक योजनामा २० प्रतिशतसम्म बचत हुने प्लेटफर्मले जनाएको छ । प्रति सामग्री शुल्क, भाडा वा क्रेडिट जस्ता थप खर्च छैन, र कुनै सम्झौता वा सेट-अप शुल्क पनि लाग्दैन ।

मेरोस्ट्रिमका अनुसार एउटै सदस्यताले पूरा सामग्री सूची समेट्छ । नयाँ सामग्री प्रत्येक हप्ता वा महिना थपिँदै जानेछ । केही सामग्री निश्चित देशका लागि मात्र इजाजत लिइएको हुने भएकाले दर्शक जुन देशमा छ, त्यहीँ उपलब्ध सामग्री मात्र देखिन्छ । यात्रामा हुँदा दर्शकले त्यस बेला रहेको देशमा उपलब्ध सामग्री हेर्न पाउँछन् ।

भिसा, मास्टरकार्ड र अमेरिकन एक्सप्रेसबाट जुनसुकै देशबाट भुक्तानी गर्न सकिन्छ । नेपाल र केही अन्य देशमा खल्ती र इसेवाबाट नेपाली रुपैयाँमै भुक्तानी गर्न मिल्छ । कार्डबाट गरिएको भुक्तानी प्रत्येक बिलिङ अवधिको अन्त्यमा स्वतः नवीकरण हुन्छ, जसले सेवामा अवरोध आउँदैन । खल्ती र इसेवाबाट गरिएको भुक्तानी भने आफैँ नवीकरण हुँदैन, प्रयोगकर्ताले फेरि भुक्तानी गर्नुपर्छ। म्याद सकिनु अगाडि प्लेटफर्मले सम्झना गराउने जनाएको छ ।

सदस्यता रद्द गर्न खाता सेटिङमा गएर छनोट गर्नुपर्छ । रद्द गर्दा कुनै शुल्क लाग्दैन । चालु अवधि सकिएसम्म पूर्ण पहुँच कायम रहन्छ र त्यसपछि सदस्यता नवीकरण हुँदैन ।

प्रिमियम योजनामा सहयोग गर्ने सामग्री र डिभाइसमा फोरके अल्ट्रा एचडीसम्म स्ट्रिमिङ सुविधा दिइएको छ । उत्कृष्ट फोर के अनुभवका लागि करिब २५ एमबीपीएस इन्टरनेट गति सिफारिस गरिएको छ । सबै योजनामा इन्टरनेट गतिअनुसार भिडियोको गुणस्तर स्वतः मिल्ने भएकाले नेटवर्क कमजोर हुँदा पनि हेर्न रोकिँदैन ।

सामग्री उपलब्ध भएसम्म दर्शकले हेर्दाहेर्दै सबटाइटल र अडियो भाषा बदल्न तथा प्लेब्याक गति मिलाउन सक्छन् । मोबाइल, ट्याब्लेट वा ल्यापटपमा ब्राउजरबाटै हेर्न मिल्ने र एउटा डिभाइसमा छोडेको ठाउँबाट अर्कोमा जारी राख्न सकिने सुविधा रहेको टिमको भनाइ छ ।

सुरुवाती चरणमा मेरोस्ट्रिमले विविध विधाका सामग्री प्रस्तुत गरिने भएका छन् । जसमा चलचित्र ‘कुमारी’ र ‘कथापुतली’, लघुचलचित्र ‘आमा’, ‘डल्स हाउस’ र ‘मिसिङ ब्राइड’ शो: ‘मेरो माइक’ स्ट्यान्डअप कमेडी शो,  र ‘हजुर आमाको कथा’ रहेका छन् ।

सिनेमा हलको पहुँच मुख्यतः सहरी क्षेत्रमा सीमित छ । लघुचलचित्र, वृत्तचित्र र प्रयोगात्मक सामग्रीलाई हलमा स्थान पाउन गाह्रो हुन्छ, जसले स्वतन्त्र निर्माताहरूलाई निरुत्साहित गरेको छ । सामग्री निःशुल्क प्लेटफर्ममा राख्दा निर्माताले आम्दानी गर्न सक्ने स्थिर मोडेल बन्दैन । विदेशी ओटीटी प्लेटफर्महरू उपलब्ध भए पनि तिनमा नेपाली सामग्री कम हुन्छ, भुक्तानी प्रक्रिया जटिल हुन्छ र मूल्य पनि नेपाली दर्शकका लागि महँगो पर्न सक्छ । यस्तो अवस्थामा एउटै सदस्यताबाट विविध विधाका सामग्री एकै ठाउँमा उपलब्ध हुँदा दर्शकले आफ्नो समय र सुविधाअनुसार घरमा, यात्रामा वा जुनसुकै स्थानबाट हेर्न सक्छन् । यसले नेपाली निर्माता र कलाकारका लागि आफ्ना कृति दर्शकसम्म पुर्‍याउने नयाँ बाटो खोल्नुका साथै सदस्यताबाट आम्दानीको स्थिर स्रोत बन्न सक्ने अपेक्षा गरिएको छ । बहुभाषा र सबटाइटलको सुविधाले नेपाली सामग्रीलाई विदेशमा रहेका नेपाली समुदाय र अन्य भाषाका दर्शकसम्म पुर्‍याउन पनि मद्दत गर्ने छ ।

दर्शकले वेबसाइटमा इमेल हालेर साइनअप गर्ने, इमेलमा आएको लिङ्कबाट प्रमाणित गर्ने, योजना छनोट गरेर भुक्तानी गर्ने र त्यसपछि तुरुन्तै हेर्न थाल्न सक्छन् । ब्राउजरमा वा एपका रूपमा इन्स्टल गरेर पनि प्रयोग गर्न मिल्छ । मेरोस्ट्रिम फेसबुक, इन्स्टाग्राम, टिकटक, यूट्युब, एक्स (ट्विटर) र लिङ्क्डइनमा पनि उपलब्ध छ ।

नेपाली सामग्रीलाई विश्वव्यापी दर्शकसम्म पुर्‍याउने र स्थानीय सिर्जनशीलतालाई प्रोत्साहन गर्ने लक्ष्यसहित सञ्चालनमा आएको मेरोस्ट्रिममा आगामी दिनमा थप सामग्री थपिँदै जाने अपेक्षा गरिएको छ ।