काठमाडौं । टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिक जनशक्तिको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘टाटा बीएस–६ तालिम प्रशिक्षण कार्यक्रम’ सुरु भएको छ।
नेपालका लागि टाटा जेन्युइन पार्ट्सको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा सञ्चालन भएको तालिम कात्तिक २० गतेसम्म चल्नेछ। देशका विभिन्न १४ स्थानमा आयोजना हुने कार्यक्रममा टाटा कमर्सियल गाडीमा कार्यरत प्राविधिक तथा इलेक्ट्रिसियनहरू सहभागी हुनेछन्।
तालिम हेटौंडा, बिर्तामोड, विराटनगर, दमक, धनगढी, पर्सा/टाँडी, इटहरी, नारायणघाट, मिर्चैया, पोखरा, भैरहवा, ढल्केवर, दाङ/घोराही र वीरगञ्जमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रशिक्षणमा सहभागी टाटा गुरुहरूलाई आधुनिक सवारी प्रविधि तथा भारत स्टेज–६ (बीएस–६) प्रविधिबारे प्राविधिक ज्ञान र सीप प्रदान गरिनेछ। यसअन्तर्गत विद्युतीय प्रणाली, ब्याट्रीको संरचना तथा कार्यप्रणाली, भोल्टेज, करेन्ट, रेसिस्टेन्स, विद्युतीय सर्किट, मल्टिमिटरको प्रयोग र सवारीसाधनको स्टार्टिङ तथा चार्जिङ सिस्टमबारे प्रशिक्षण दिइनेछ।
त्यस्तै, बीएस–६ इन्जिन म्यानेजमेन्ट सिस्टमअन्तर्गत सेन्सर, ईसीयू र एक्टुएटरको कार्यप्रणालीका साथै उत्सर्जन नियन्त्रण प्रणालीमा प्रयोग हुने एससीआर र एलएनटी सिस्टमबारे जानकारी दिइने कार्यक्रम छ। सहभागीलाई विभिन्न कम्पोनेन्टको पहिचान, सर्किट विश्लेषण, रिजेनेरेसन प्रक्रिया तथा डायग्नोस्टिक टुल्स प्रयोग गरेर प्राविधिक समस्या पहिचान र समाधान गर्ने सीपसमेत सिकाइनेछ।
आधुनिक सवारी प्रविधिबारे प्राविधिक जनशक्तिको ज्ञान विस्तार गर्दै मर्मत तथा सर्भिसिङ सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ। यसबाट टाटा गुरुहरूको प्राविधिक दक्षता, समस्या समाधान गर्ने क्षमता र व्यावसायिक सीप अभिवृद्धि हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया