१६ कार्तिक २०८३, सोमबार

रास्वपालाई हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ भनेर बुद्धिजीवीहरूले कुरा बुझिसके : प्रचण्ड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बर्दिबास । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मतदान गरेका नागरिकले आफ्नो मतको परिणामबारे प्रश्न गर्न थालेको दाबी गरेका छन्। उनले रास्वपाप्रति जनताको बुझाइ बदलिँदै गएको टिप्पणीसमेत गरे।

महोत्तरीको बर्दिबासमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै त्यसलाई अलोकतान्त्रिक भएको आरोप लगाए। बौद्धिक समुदायले रास्वपालाई दिएको मत ‘हावामा गएको’ महसुस गर्न थालेको उनको भनाइ थियो।

उनले भने, ‘आम जनताले पनि सरकारको कार्यशैली बुझ्न थालेका छन्। बौद्धिक समुदाय त स्पष्ट भइसकेकै छ। नेपालका सबै बुद्धिजीवीहरूले कुरा बुझिसके, हावामा भोट हालिएछ, हुरी बतास मात्रै रहेछ यो भनेर। तर, गाउँगाउँका जनतालाई बुझाउन अझै बाँकी छ। त्यो काम चाहिँ हामी गर्छौँ।’

उनले गाउँगाउँसम्म सरकारका गतिविधिबारे जानकारी पुर्‍याउन बाँकी रहेको उल्लेख गर्दै पार्टीले जागरण अभियानमार्फत सरकारका कामकारबाहीबारे जनतालाई सचेत गराउने बताए।

सरकारविरुद्ध आन्दोलन गर्ने विषयमा पनि पार्टीभित्र तयारी भइरहेको उनले जानकारी दिए। आन्दोलनको स्वरूप र समय भने परिस्थितिअनुसार तय गरिने उनको भनाइ छ।

यसैगरी, मधेस प्रदेश सरकारको स्थायित्वका लागि लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरूसँग छलफल भइरहेको र चाँडै निष्कर्षमा पुग्ने प्रचण्डले बताए।