१६ कार्तिक २०८३, सोमबार

इटहरीमा पहिलोपटक नेपथ्यको लाइभ कन्सर्ट, तयारी पूरा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी । नेपालको चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट आगामी कात्तिक १८ गते सुनसरीको इटहरीमा आयोजना हुने भएको छ । 

इटहरी रङ्गशालामा हुने कन्सर्टको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ ।

कन्सर्टको तयारी, व्यवस्थापन, सुरक्षा तथा कार्यक्रम सञ्चालनसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले आयोजकले पत्रकार सम्मेलन आयोजना गरेको हो ।

पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको प्रवर्द्धनमा हुन लागेको कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङसहित ब्याण्डका सदस्यले प्रस्तुति दिनेछन् ।

इटहरीमा पहिलोपटक हुन लागेको नेपथ्यको लाइभ कन्सर्टले स्थानीय संगीतप्रेमीमा उत्साह थपेको छ । कन्सर्टमा ब्याण्डका चर्चित गीतहरू प्रत्यक्ष सुन्न पाइने भएपछि दर्शकहरू उत्सुक बनेका छन् ।

नेपथ्यले ‘रेशम’, ‘तालको पानी’, ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’ र ‘भेडाको ऊनजस्तो’लगायत आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछ । ब्याण्डका चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै अविस्मरणीय सांगीतिक अनुभव दिलाउने लक्ष्य आयोजकले राखेको छ ।

कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न दर्शकको सहज प्रवेश, सुरक्षा व्यवस्था, मञ्च तथा प्राविधिक व्यवस्थापनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार कन्सर्टका दिन अपराह्न ४ बजेदेखि दर्शकका लागि प्रवेशद्वार खुला गरिनेछ भने साँझ ६ बजेदेखि नेपथ्यको सांगीतिक प्रस्तुति सुरु हुनेछ ।

इटहरीमा पहिलोपटक हुन लागेको नेपथ्यको प्रत्यक्ष प्रस्तुतिले पूर्वी नेपालको सांगीतिक माहोल थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । लामो समयदेखि ब्याण्डको प्रत्यक्ष प्रस्तुति हेर्न चाहने स्थानीय संगीतप्रेमीका लागि यो कन्सर्ट विशेष अवसर बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।